जेनजी आन्दोलनको आवरणमा आगजनी गरेर ध्वस्त पारिएको सर्वोच्च अदालत ।काठमाडौं । सर्वोच्च अदालतमा गरिएको आगजनीले न्याय क्षेत्रकै संवेदनशील अभिलेखहरू ध्वस्त पारेको छ । अदालतको एनेक्स भवनमा भएको तोडफोड र आगजनीका कारण करिब २५ हजारभन्दा बढी मुद्दाका मिसिल जलेर नष्ट भएका छन् ।
यस घटनाले आगामी दिनमा मुद्दाको सुनुवाइदेखि फैसला प्रक्रिया नै प्रभावित हुने देखिएको छ । भुइँतलामा रहेको अभिलेख शाखा, कानुन पत्रिकाको प्रकाशन विभाग, आईटी कक्षदेखि अभिलेख सुरक्षित गर्ने स्थानसम्म आगजनी हुँदा सबै फाइल र कम्प्युटर उपकरण जलेर खरानी भएका छन् ।
प्रदर्शनकारीहरू अदालत परिसरभित्र पसेर कागजातहरू थुपारेर आगो लगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । सो क्रममा उनीहरूले श्रीयन्त्र, आँखीझ्याललगायतका संरचनासमेत तोडफोड गरी जलाएका थिए ।
सर्वोच्च मात्र नभएर हेटौँडास्थित डाटा सेन्टरमा पनि तोडफोड र आगजनी भएको छ । त्यहाँ राखिएको ब्याकअप डाटासमेत नष्ट भएपछि सर्वोच्च अदालतको आधिकारिक वेबसाइट ‘डाउन’ भएको छ । यससँगै गत केही वर्षयता तयार पारिएका न्यायाधीशहरूको कैयौँ फैसलाका डिजिटल अभिलेखसमेत हराएको प्रारम्भिक अनुमान छ ।
आगजनीले प्रधान न्यायाधीश र मुख्य रजिष्ट्रारलगायतका कार्यकक्षसमेत ध्वस्त भएका छन् । कामकाजका महत्त्वपूर्ण फाइल, अभिलेख र कम्प्युटर उपकरण पूर्ण रूपमा क्षतिग्रस्त भएका कारण अदालतको प्रशासनिक र न्यायिक कामकारबाही प्प बनेको छ ।
घटनापछि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि क्षतिको यथार्थ विवरण प्राप्त भइसकेको छैन । न्यायालयका १ अधिकारीले भने, ‘यो घटनाले सम्पूर्ण न्याय प्रणालीमा गम्भीर असर पार्छ । अब मुद्दा प्रक्रियामा ठूलो चुनौती आउन सक्छ ।’
यसअघि कहिल्यै नभएको यो प्रकृतिको विनाशकारी घटनाले न्यायिक स्वायत्तता र दस्तावेज व्यवस्थापन प्रणालीमा संकट ल्याएको छ । आगजनीमा संलग्नका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङमा पनि आगजनी गरिएको छ । आन्दोलनकारीका नाममा पुगेको अराजक समूहले न्यायालयमाथि आक्रमण गरेको हो । जिल्ला अदालतको आगो हालसम्म नियन्त्रणमा आउन सकेको छैन ।

























