
काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निश्चितकालका लागि बन्द गरिएको छ ।
विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा विषम परिस्थिति सिर्जना भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण उडान स्थगित गरिएको उल्लेख छ । यसअघि विमानस्थल बन्द गरिएको भए पनि बुधबार दिउँसो १२ बजेदेखि सञ्चालन गर्ने तयारी गरिएको थियो ।
तर, परिस्थितिको मूल्यांकनपछि कार्यालयले तत्काल खोल्न सम्भव नभएको ठहर गर्दै अनिश्चितकालीन बन्द घोषणा गरेको हो । यस निर्णयले आन्तरिक र बाह्य दुवै उडान ठप्प भएका छन् ।
नेपाल भित्रिने र बाहिरिने सयौँ यात्रु अलपत्र परेका छन् भने एयरलाइन्स कम्पनीहरूले पनि आफ्नो तालिका स्थगित गरेका छन् । यात्रुहरू विमानस्थलमै रोकिएका छन् र कतिपय होटलतर्फ लागेका छन् । हाल मुलुकभरका विमानस्थलमा उडान अवरुद्ध भएको छ ।


























