परिवारले माग्दैछ जेनजीसँग श्रीयमको शव

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २६, बिहीबार ११:५१

विराटनगर । जेनजी आन्दोलनकै क्रममा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका १८ वर्षीय श्रीयम चौलागाईंको परिवार अहिले असह्य पीडा र शोकमा डुबिरहेको छ ।

सोमबार बिहान कलेजबाट फर्कंदै गर्दा आफ्नी बहिनीलाई ‘म केहीबेरमा फर्कन्छु’ भनेर बानेश्वरमा ओर्लिएका श्रीयम अब कहिल्यै घर फर्कने छैनन् । भ्रष्टाचार अन्त्य र सुशासनको नाराले आकर्षित भएका उनले माइतीघर मण्डलामा भइरहेको आन्दोलनमा सहभागी हुँदा प्रहरीको गोली लागेर ज्यान गुमाए ।

मोरङको लक्ष्मीमार्ग घर भएका श्रीयम केही वर्षअघि इटहरीबाट प्रवेशिका परीक्षा सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगेका थिए । हाल काँडाघारीमा बस्दै ग्लोबल कलेजमा अध्ययनरत उनी सामान्यतया राजनीतिमा सक्रिय नभएको परिवारजन बताउँछन् । तर, जेनजीको आन्दोलनले उनलाई समेत आकर्षित गरेको थियो ।

मामा केशव कार्कीले भने, ‘भान्जा पढाइमा तेज थिए । राजनीतिमा खासै चासो थिएन । तर, आन्दोलनले छोएको रहेछ । सोमबार उनी देशलाई निकास दिनुपर्छ भन्ने उत्साहका साथ आन्दोलनतिर हिँडे । तर, विडम्बना अब उनी सहिद भए । परिवार र आफन्तले गुमायौं ।’ सोमबार अबेरसम्म घर नफर्केपछि परिवारले खोजी थालेको थियो ।

कार्की आफैं ट्रमा सेन्टर पुगे, जहाँ मृतकको सूचीमा श्रीयमको नाम सातौँ नम्बरमा देखे । उनले भने, ‘सम्हालिन धेरै बेर लाग्यो । सँगै हुर्काएको र पढाएको अनि सँगै हिँडेको सम्झनाले भतभती पोलिरह्यो । घरमा खबर गर्ने हिम्मत पनि तुरुन्त जुटेन ।’ ४ दिन बितिसक्दा पनि परिवार र आफन्तले श्रीयमको शव पाउन सकेका छैनन् ।

अहिले शव भद्रकालीस्थित सुरक्षा निकायको नियन्त्रणमा राखिएको बताइन्छ । यसबीच श्रीयमका बुवा गणेश चौलागाईंले सामाजिक सञ्जालमार्फत बिन्ती गर्दै भनेका छन्, ‘जेनजीको नेतृत्व गर्नु हुनेहरुलाई सहिद परिवारको अनुरोध छ । कहिलेसम्म हामी हाम्रो छोराको लास कुरेर बस्ने हो ? कम से कम लास दिनुहोस् । त्यही नै हाम्रो लागि ठूलो सहयोग हुनेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि सरकार निर्माणमा अन्योल देखिएको बेला जेनजी नेतृत्व सहिद परिवारसँग सम्पर्कमै नआएको भन्दै परिवारजन असन्तुष्ट छन् । मामा केशवले भने, ‘यो श्रीयमको मात्र कुरा होइन । आन्दोलनमा ज्यान गुमाएका सबै युवाको कुरा हो । जेनजीले कम्तीमा उनीहरुलाई सहिद घोषणा गर्नुपर्छ । हामीले भविष्य गुमायौँ, अब मृतक नानीहरुलाई सहिद घोषणा गरिदिए मात्र केही भए पनि न्यायको अनुभूति हुनेछ ।’

अहिलेसम्म लास नपाएर शोकमा डुबेका श्रीयमका परिवारका सदस्यले अन्तिम इच्छा भने एउटै राखेका छन् ,‘हाम्रो छोराको लास फर्काइदेऊ । त्यही नै हाम्रो लागि न्याय हुनेछ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.