झापामा ३ जना प्रदर्शनकारीको मृत्यु

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २७, शुक्रबार १९:२०

झापा । जेनजी पुस्ताले झापामा सञ्चालन गरेको आन्दोलन हिंसात्मक हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

बिर्तामोडमा घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा शुक्रबार मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । झmापाको अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशीको बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको उनका परिवारजनले पुष्टि गरेका छन् ।

प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड कब्जा गर्दै आगजनी गरेका थिए । त्यस क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा उनी गम्भीर घाइते भएका थिए । पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेका राजवंशीको बिहान ११ः३५ बजेतिर मृत्यु भएको हो ।

यसअघि भदौ २४ गते बिर्तामोड नगरपालिका–१० मा भएको झडपमा पाँचथर हिलिहाङ–२ घर भई बिर्तामोडमा बस्दै आएका अन्दाजी ३५ वर्षीय कमल भण्डारी प्रहरीको गोली लागेर घाइते भएका थिए । उनको भदौ २५ गते उपचारकै क्रममा मृत्यु भएको थियो ।

सोही दिन इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने क्रममा भएको भिडन्तमा अर्जुनधारा नगरपालिका–८ का २८ वर्षीय गोपाल सेढाईं प्रहरीको गोली लागेर घटनास्थलमै ढलेका थिए । उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

हालसम्म ३ जनाको मृत्यु भइसके पनि आन्दोलनका क्रममा घाइते भएका अन्य प्रदर्शनकारी र सुरक्षाकर्मी विभिन्न अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.