विराटनगरको भाटभटेनी चोरी गर्नेको घरमा पुगेर सामान फिर्ता गराउँदै अभियन्ता

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २८, शनिबार १५:४८

विराटनगर । विराटनगरको भाटभटेनी सुपर मार्केटको सामान चोरी गर्नेहरुको घर–घरमा पुगेर अभियान्ताले सामान फिर्ता गराउन थालेका छन् ।

चोरी गर्नेको पहिचान गर्दै अभियन्ताहरु उनीहरुको घर–घर पुगिरहेका हुन् । जेनजीको आन्दोलनका क्रममा मंगलबार अराजक समूहले लुटपाटपछि भाटभटेनीमा आगजनी गरेको थियो ।

लुटपाट भएको सामग्री सामाजिक अभियान्ता पारुल क्षेत्रीले घर–घर पुगेर फिर्ता गरिरहेका हुन् । उनले यो समाचार तयार पार्दासम्म ६ वटा घरमा पुगेर भाटभटेनीको समाग्री फिर्ता गराइसकेका छन् ।

‘केही स्थानमा स्वतस्फूर्त रुपमा सामान फर्काउनु भएको छ । केही स्थानबाट खबर आएको छ । फिर्ता ल्याएको सामान भाटभटेनीलाई बुझाउँछौं,’ उनले भने । उनको समूहले शनिबार विराटनगरको त्रिमूर्ति चोकमा छापा मारेर चोरीको सामग्री फिर्ता गराएको थियो ।

राजनीति छाडेर क्षेत्रीले विराटनगरमा वृक्षरोपण अभियान सञ्चालन गरिरहेका छन् । क्षेत्री अभियानका सदस्यसहित अहिले भाटभटेनीबाट चोरी भएका सामग्री फिर्ताको अभियान सञ्चालन गरिरहेका छन् । उनले चोरी भएको सामग्री फिर्ता गर्न आग्रह पनि गरिरहेका छन् ।

‘विराटनगर त सभ्यहरुको समाज हो नि । तर, जसले जे गर्दा पनि हुनेखालको बनाइयो । गलत गर्दा कारबाही हुनुपर्छ भन्ने लागेर ‘रिक्स’ लिएर फिर्ता गराउँदैछौं,’ उनी भन्छन् । मंगलबार अराजक समूहले आगजनी गर्दा विराटगरको भाटभटेनी जलेर ध्वस्त भएको छ ।

तोडफोडसँगै आगजनी र लुटपाट मच्चाइएको थियो । भाटभटेनीको विराटनगरसँगै धरान, दमक र बिर्तामोड शाखामा आगजनी र लुटपाट भएको थियो । धरानको भाटभटेनीमा लुटपाट गर्न गएका ४ जनाको जलेर मृत्यु भएको अवस्थामा शुक्रबार शव फेला परेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.