
काठमाडौं । जेनजी आन्दोलनका नाममा नयाँ बानेश्वरस्थित संसद भवनभित्र भएको तोडफोड र लुटपाटपछि चोरी भएका सामग्री फिर्ता गर्न संसद सचिवालयले सार्वजनिक आग्रह गरेको छ ।
भदौ २४ गतेको घटनामा अराजक समूह संसद भवनमा प्रवेश गरी आगजनी र तोडफोडसँगै कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिनलगायत सामग्री चोरी भएको संसद सचिवालयले जनाएको छ । सचिवालयले सोमबार जारी गरेको सूचनामा ती सामग्री आफूसँग भए तत्काल फिर्ता गर्न तथा सामग्री भएको स्थान वा सम्बन्धित व्यक्तिको नाम–ठेगाना उपलब्ध गराउन आग्रह गरिएको छ ।
साथै, लुटपाटको क्रममा खिचिएका भिडिओ वा फोटो प्रमाण उपलब्ध गराउनेलाई गोपनीयता दिइने आश्वासन पनि दिइएको छ । सचिवालयले सार्वजनिक सम्पत्ति लुटपाटमा संलग्नलाई कानुनी प्रक्रियामा ल्याउन प्रमाण अत्यावश्यक हुने भन्दै सहयोगका लागि नागरिक समाज र सरोकारवालालाई जोडदार आह्वान गरेको छ ।


























