यस्तो छ मन्त्री कुलमान घिसिङलाई सचिवले गरेको ‘ब्रिफिङ’

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३०, सोमबार १७:२९

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई सोमबार मन्त्रालयका सचिव केशवकुमार शर्माले विस्तृत ‘ब्रिफिङ’ गरेका छन् ।

सचिव शर्माले हालैको जेनजी आन्दोलनका कारण भौतिक पूर्वाधार क्षेत्रमा पुगेको क्षति, मन्त्रालयका कार्यालय र भवनहरूको अवस्थादेखि लिएर लाइसेन्स सफ्टवेयरमा आएको गम्भीर समस्या र कर्मचारी अभावसम्मका चुनौतीबारे जानकारी दिएका हुन् । मन्त्रालय परिसरमा आयोजित कार्यक्रममा सचिव शर्माले मन्त्री घिसिङलाई मन्त्रालयको संरचना र मातहतका विभागहरूको परिचय गराउँदै सडक विभाग, यातायात व्यवस्था विभाग र रेल विभागका हालका गतिविधि, क्षति र प्राथमिकताबारे प्रष्ट पारे ।

उनका अनुसार जेनजी आन्दोलनले सबैभन्दा ठूलो असर सडक विभागमा पारेको छ । बबरमहलस्थित विभागको मुख्य भवन पूर्णरूपमा क्षतिग्रस्त भएको र त्यसपछि कामचलाउ कार्यालयका लागि चाकुपाटको मेकानिकल ट्रेनिङ सेन्टर प्रयोग गर्नु परेको उनले जानकारी दिए ।

भक्तपुर, पोखरा, दाङ, विराटनगर, चलनिकापुरलगायत जिल्लाका सडक कार्यालयहरूमा रहेका भवन र सवारी साधनहरूमा समेत ठूलो क्षति पुगेको उल्लेख गर्दै उनले विभागका उच्च अधिकारीहरू चढ्ने गाडीसमेत जलेर प्रयोगविहीन भएको बताए । सयौँ गाडी, मोटरसाइकल, कार्यालय फाइल र डिजाइनका कागजात नष्ट भएको उनको भनाइ थियो ।

यातायात व्यवस्था विभाग पनि आन्दोलनको ठूलो मारमा परेको सचिव शर्माले बताए । विभागको भवन आधा भाग पूर्ण रूपमा प्रयोगविहीन भएको र बाँकी भाग मर्मत गरेपछि मात्रै चलाउन सकिने अवस्थामा रहेको उल्लेख गर्दै उनले सबैभन्दा गम्भीर समस्या लाइसेन्स सफ्टवेयरमा आएको बताए ।

‘लाइसेन्स सफ्टवेयर ड्यामेज हुनु ठूलो चुनौती हो । यसलाई पुनः प्राप्त गर्नु कठिन हुनेछ,’ उनले भने । विभागमा रहेका ५ लाखभन्दा बढी इम्बोस्ड नम्बर प्लेट पनि जलेर नष्ट भएको तथ्य उनले प्रस्तुत गरे । रेल विभाग भने तुलनात्मक रूपमा कम प्रभावित भएको बताइए पनि नेपाल रेलवे कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिक्त रहँदा दैनिक सञ्चालन प्रभावित भएको सचिव शर्माले स्मरण गराए ।

प्राकृतिक विपत्तिको असरबारे पनि उनले विस्तृत जानकारी दिए । चीनसँग जोड्ने अरनिको राजमार्गमा बाढीपहिरोका कारण १ सय १३ किलोमिटर सडक नष्ट भएको र रसुवागढीको पुलसमेत बगाएको उनले बताए । बीपी राजमार्गसहितका अन्य राजमार्गहरूमा पनि ठूलो क्षति पुगेको, धेरै पुलहरू बगाएको र तत्काल पुनर्निर्माण आवश्यक रहेको उनको भनाइ थियो ।

सचिव शर्माले मन्त्री घिसिङलाई प्राथमिकतामा राख्नुपर्ने विषयहरूबारे सुझावसमेत दिए । उनका अनुसार क्षतिग्रस्त कार्यालयहरूको कार्यस्थल तत्काल तयार गर्ने, चीनतर्फका राजमार्ग र पुल पुनः सञ्चालन गर्ने, लाइसेन्सको डेटा पुनः प्राप्त गर्ने र दसैंअघि यातायात व्यवस्थापनका लागि व्यवसायीहरूसँग कार्ययोजना बनाउनुपर्ने अवस्था छ ।

कार्यक्रममा उनले मन्त्रालय अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूले नयाँ मन्त्रीलाई पूर्ण सहयोग गर्ने र जनअपेक्षाअनुसार सेवा प्रवाह तथा सुशासन कायम गर्न एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.