
सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–३ पुलचोकमा बिहीबार बिहान दुर्घटनामा परेर मृत्यु भएकाको सनाखत भएको छ ।
दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । २४ जना घाइते भएका थिए । मृतकहरु सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय सुनील यादव र सिराहाकै सखुवानान्कारकट्टी–३ की ४५ वर्षीया धनेश्वरीदेवी यादव रहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
उनका अनुसार पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकेर राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई बिहान ९ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियो । सुनीलको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा १०ः३० बजेतिर र धनेश्वरीदेवीको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा १०ः४५ बजेतिर मृत्यु भएको जानकारी खतिवडाले दिए ।
मृतक दुवै जनाको तत्काल पहिचान खुलेको थिए । पछि सनाखत भएको हो । दुर्घटनामा परेर घाइते भएका २४ जना नै सप्तरी र सिराहाका छन् ।
सुनसरीमा ट्रकमा ठोक्कियो यात्रुवाहक बस : २ जनाको मृत्यु, २४ जना घाइते

























