
काठमाडौं । काठमाडौंमा भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी हुनलाई गएका युवा ११ दिनदेखि बेपत्ता भएका छन् ।
हुम्लाको नाम्खा गाउँपालिका–३ खगालगाउँ स्थायी घर भई हाल काठमाडौंको तीनचुलीमा बस्दै आएका २४ वर्षीय थुक्तेन पाल्वर तामाङ आन्दोलनमा गएका दिनदेखि घर फर्किएका छैनन् । बेपत्ता युवकका बुवा टसी छिरिङ तामाङका अनुसार भदौ २३ गतेको प्रदर्शनमा पनि उनी सहभागी भएका थिए र त्यसपछि घर फर्किएका थिए ।
तर, २४ गते बिहान होटलको सिफ्ट सकाएर दिउँसो कोठामा फर्किएपछि पुनः आन्दोलनमा गएका छोरा फर्केर नआएको उनले बताए । ‘एघार दिनसम्म काठमाडौंका धेरै ठाउँमा खोज्यौँ । तर, कतै फेला परेन,’ चिन्तित बुवा छिरिङले भने ।
थुक्तेन हाल तीनचुलीमा भतिजोसँग कोठा लिएर बस्दै आएका थिए । उनले नारायणथान गुम्बामा लामा शिक्षा पूरा गरेका थिए र हाल काठमाडौंमा रोजगारी गर्दै आएका थिए । टसीका दुई छोरामध्ये थुक्तेन कान्छो हुन् ।
आन्दोलनमा सहभागी भएर बेपत्ता भएपछि हुम्लाका स्थानीय समाजहरूले समेत चिन्ता व्यक्त गरेका छन् । नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले ऊर्जामन्त्री कुलमान घिसिङलाई भेटेर युवकको खोजीका लागि पहल गर्न आग्रह गरिएको जानकारी दिए ।
परिवारले थुक्तेनको सकुशल फिर्तीका लागि अपिल गर्दै खोजीका लागि सहयोग गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ । ११ दिनदेखि अत्तोपत्तो नभएपछि परिवारका सदस्य चिन्तित छन् ।

























