
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका सरकारी संरचनाको सरसफाइ र प्राविधिक परीक्षणको काम सुरु भएको छ ।
शनिबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबारका केही भवन र अन्य सरकारी संरचनामा प्रारम्भिक प्राविधिक परीक्षण थालिएको हो । नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालका अनुसार रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन मर्मत गरेर प्रयोग गर्न असम्भव रहेको छ ।
उनले भने, ‘भवनको भित्तामा ठूलो क्षति नभए पनि स्ल्याबहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जसका कारण स्वास्थ्य मन्त्रालयको भवन पुनः प्रयोग जोखिमपूर्ण छ ।’ एसोसिएसनले भवन निर्माण विभागको समन्वयमा आगलागीबाट ध्वस्त भएका संरचनाको प्रारम्भिक परीक्षण गर्दैछ ।
परीक्षणपछि भवन पुनर्निर्माणका लागि आवश्यक सुझावहरू तयार गरिने बताइएको छ । बरालले सिंहदरबारभित्रका केही भवन पुनः प्रयोग योग्य भए पनि केही जोखिमयुक्त रहेको जानकारी दिए ।
सर्वोच्च अदालतको उत्तरतर्फको भवन पूर्णरुपमा क्षतिग्रस्त भएकाले प्रयोग असम्भव भए पनि दक्षिणतर्फको भवनमा कम जोखिम देखिएको छ । एसोसिएसनले प्राविधिक परीक्षणपछि मात्र भवन प्रयोगको निर्णय दिन सिफारिस गर्ने जनाएको छ ।

























