
काठमाडौं । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै भएको जेनजी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै संसदीय समितिका सदस्यहरूले दुःख व्यक्त गरेका छन् ।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको सिंहदरबारमा बसेको बैठकमा सहिदहरुप्रति प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । सभापति मायाप्रसाद शर्माले शान्तिपूर्ण आन्दोलनमा व्यक्तिको बलिदान भएको बताए ।
सदस्य कृष्णप्रसाद अधिकारीले भने, ‘आन्दोलनमा युवामाथि ताकी–ताकी गोली हानियो । दोषीलाई कानुनको दायरामा ल्याउन न्यायिक आयोग गठन हुनुपर्छ ।’ उनीहरूले पुरातात्विक सम्पदामा भएको क्षतिबारे अध्ययन गरेर प्रतिवेदन तयार गर्नुपर्ने प्रस्ताव समेत गरेका छन् ।
समितिका अन्य सदस्यहरूले घाइतेको उपचार निशुल्क गरिनुपर्ने, सार्वजनिक र निजी सम्पत्तिको विवरण संकलन गरी सरकारले क्षतिको पुनर्निर्माण गर्नुपर्ने बताए ।

























