
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको छ ।
जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते आइतबार ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको हो ।
जीवन विकासका १६० वटा शाखा कार्यालयहरू छन् । सबै शाखा कार्यालयहरूले स्वयंसेवक दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् ।
स्वयंसेवक दिवसमा श्रमदान मार्फत ४५ विपन्न परिवारका लागि घर निर्माण भएको छ । २७ वटा शाखाले बजार सरसफाइ, २७ वटा शाखाले मन्दिर सरसफाइ, २७ वटा शाखाले वृक्षारोपण कार्यक्रम गरेका छन् । विद्यालय सरसफाइ तथा वृक्षारोपण कार्यक्रम १८ वटा शाखाले गरे ।
४ वटा प्रहरी बिट मर्मत, २ वटा नगरपालिकाको कार्यालय सरसफाइ, ३ वटा वडा कार्यालय सरसफाइ गरिएको छ । दुई स्थानमा सामुदायिक भवन, दुई स्थानमा पानीको मुहान सरसफाइ भएको छ ।
पृथ्वी जोगाउने अभियानअन्तर्गत वातावरण संरक्षणका लागि जीवन विकासले वृक्षारोपणलाई प्राथमिकतामा राखेको छ ।
कार्यक्रमहरूमा थ्री जिरो क्लब र स्थानीय नागरिक समाजका अगुवा र लघुवित्तका सदस्यहरू सहभागी थिए ।
२०७२ सालमा आयोजित सदस्य सम्मेलनबाट जीवन विकासले श्रमदान गरेर स्वयंसेवक दिवस घोषणा गरेको थियो । २०७३ सालदेखि निरन्तर स्वयंसेवक दिवस मनाउँदै आएको छ ।

समुदायमा श्रमदानको भावना विकास गर्नका लागि सामाजिक काम गर्दै स्वयंसेवक दिवस मनाउन थालिएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।
उनका अनुसार नेपालमा विदेशबाट भोलेन्टियर रूपमा विभिन्न देशका नागरिकले श्रमदान गर्ने प्रचलन थियो । आफ्नो देशका लागि आफैले श्रमदान गरेर मनाउने उद्घोषसहित जीवन विकासले स्वयंसेवक दिवस घोषणा गरेको थियो ।
‘समाजमा श्रमदानको संस्कृति विकास गर्ने उद्देश्यले स्वयंसेवक दिवस घोषणा गरेर मनाउन थालियो,’ उनले भने, ‘स्वयंसेवक दिवस श्रमदान मार्फत समाज सेवा गर्ने माध्यम पनि हो ।’
उनका अनुसार पछिल्लो समय नेपालमा स्वयंसेवकको रूपमा श्रमदान गर्ने संस्कृतिको विकास भइरहेको छ ।
कोशी, मधेस र बागमती प्रदेशमा ३ लाख ५५ हजार बढी सदस्यको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले विभिन्न सामाजिक अभियान पनि सञ्चालन गरिरहेको छ ।























