विराटनगरको राधाकृष्ण शिव पाञ्चायन मन्दिरमा सामूहिक जमरा  (फोटो फिचर)

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ६, सोमबार १७:२५
विराटनगरको राधाकृष्ण शिव पाञ्चायन मन्दिरमा सामूहिक जमरा  (फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित ठुलो मिल चोक पोखरियामा रहेको राधाकृष्ण शिव पाञ्चायन मन्दिरमा सामूहिक जमरा राखिएको छ ।

बडादसैँको पहिलो दिन सोमबार घटस्थापनाको अवसरमा सामूहिक जमरा राखिएको हो । पोखरिया युवा समूह, राधाकृष्ण भजन मण्डली र राधाकृष्ण शिव पाञ्चायन मन्दिरको संयुक्त व्यवस्थापनमा जमरा राखिएको छ । यहाँ प्रत्येक वर्ष सामूहिक जमरा राख्ने गरिन्छ ।

घटस्थापनाका दिन घर वा सामूहिक देवी घरमा शुद्ध स्थानको माटो वा बालुवा फिँजाइ जौसँगै मकै, गहुँ, धानलगायत अन्न मिसाएर जमरा राख्ने प्रचलन रहेको छ । घटस्थापनाको साइत बिहान ९ः३० बजे भएकाले साइत अनुसार सामूहिक जमरा विधिपूर्वक राखिएको हो ।

जौलगायत विभिन्न अन्नलाई विधिपूर्वक रोपेर ९ दिनसम्म पूजा गरी जमरा तयार गरिन्छ । जमरालाई विजयादशमीको दिन देवीको प्रसादको रूपमा टीकासँगै लगाइन्छ । जमरा दसैँको मुख्य प्रतीक मानिन्छ ।

विजयादशमीका अवसरमा टीका लगाउँदा ठुला–बडाले आशीर्वादसहित जमरा लगाइदिने प्रचलन छ । जमरालाई समृद्धि, शक्ति र विजयको प्रतीकका रूपमा मानिन्छ । जीवनमा नयाँपन, उत्साह र सकारात्मकता, देवी दुर्गाको प्रसादका रूपमा लिइने भएकाले हरियो जमरालाई पवित्र मानिन्छ । टीका र प्रसादसँगै जमरा लगाउने परम्परा छ ।

जमरालाई विजयादशमीमा दुर्गाले असुरमाथि जितेको स्मरणमा लगाउने गरिन्छ । साथै, सामाजिक–सांस्कृतिक एकताका रूपमा लिने प्रचलन छ । टीका–जमरा लगाएर ठुलाबडाबाट आशिष पाउने प्रचलनले पारिवारिक र सामाजिक सम्बन्ध मजबुत बनाउँछ ।

विगत १४ वर्षदेखि घटस्थापनाका दिन राधाकृष्ण शिव पाञ्चायन मन्दिरमा सामूहिक जमरा राखिँदै आएको मन्दिर व्यवस्थापन समितिका संरक्षक नरेश राठीले बताए । राधाकृष्ण शिव पाञ्चायन मन्दिरमा १४ वर्षदेखि निरन्तर रूपमा ३ सयभन्दा बढी परिवारले जमरा राख्दै आएका छन् ।

मन्दिरमा दैनिक चण्डी पाठलगायत पूजाआजा गर्दै भजन कीर्तन हुँदै आएको बताइएको छ । विराटनगरको काली मन्दिर, संसारी माई मन्दिर, मोरङ रंगेलीको संसारी माई मन्दिरलगायत विभिन्न देवीका मन्दिरमा सामूहिक जमरा राख्ने गरिन्छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.