
झापा । झापाको दमक नगरपालिका–५ आम्दा रोडस्थित भित्री सडकखण्डमा सोमबार मोटरसाइकलको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ ।
आम्दाबाट क्याम्पस मोडतर्फ जाँदै गरेको मे १० प १५७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दमक–५ की ४२ वर्षीया देवी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट टाउको, दुवै हात, खुट्टा र शरीरमा गम्भीर चोट लागेर गम्भीर बनेकी उनलाई आम्दा अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।
शवको दमक अस्पतालमा पोस्टमार्टम भएको छ । दुर्घटनालगत्तै मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का २३ वर्षीय निराजन विष्टलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

























