निर्वाचन आयोगले थाल्यो मौज्दात मतपेटिकाको संकलन

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ७, मंगलबार ११:४७

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी स्वरूप जिल्लागत मौज्दात मतपेटिका र अन्य सामग्रीहरूको संकलन सुरु गरेको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार आयोगले अहिले देशभर रहेका मतपेटिका, सामग्रीहरूको संख्या, तिनको प्रयोगयोग्य अवस्था र थप आवश्यक परे कति सामग्री जुटाउनुपर्ने भन्ने विवरण संकलन गर्दैछ । यस आधारमा बजेट निर्धारण गरिने बताइएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन फागुन २१ गते तोकिएको छ । आयोगले निर्वाचनलाई व्यवस्थित बनाउन आवश्यक सामग्री व्यवस्थापनसँगै कानुनी प्रावधान संशोधनका लागि पनि पहल गरिरहेको छ ।

यसअघि आयोगले १६ वर्ष उमेर पुगेका नागरिकलाई मतदान गर्ने अधिकार दिन प्रचलित ऐन संशोधन गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेको छ । गृह मन्त्रालयले आयोगको प्रस्तावलाई आधार मानेर निर्वाचन ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउने तयारी गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

उनका अनुसार कानुनी प्रक्रिया अघि बढाउने जिम्मा अब सरकारले लिनेछ । आयोगले निर्वाचन व्यवस्थापन र पूर्वतयारीको कामलाई निरन्तर अघि बढाइरहेको भट्टराईको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.