
विराटनगर । जेनजी आन्दोलनको आवरणमा आगजनी र तोडफोड गरेर क्षतिग्रस्त बनाइएको जिल्ला प्रशासन कार्यालय मोरङले बुधबारबाट आंशिक सेवा सुरु गर्ने भएको छ ।
भदौ २४ गते आगजनी गरिएपछि प्रशासनको सेवा पूर्णरूपमा अवरुद्ध भएको थियो । आगजनी र तोडफोड हुँदा कार्यालयको भवनसहित सवारीसाधन, कम्प्युटर, प्रिन्टर, स्क्यानर, ल्यापटप, फर्निचर लगायतका सामग्री जलेर ध्वस्त भएका थिए ।
साथै, कार्यालयमा चोरी र लुटपाट पनि गरिएको थियो । उक्त घटनापछि अत्यावश्यक सेवासमेत बन्द भएको थियो । मोरङका प्रमृुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बुधबारदेखि नाबालक परिचयपत्र, जातीय सिफारिस, ठाडो उजुरी तथा पेन्सन सिफारिससम्बन्धी सेवा सञ्चालनमा ल्याइने छ ।
नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने उनले बताए । अवरुद्ध सेवा जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन पहल भइरहेको जानकारी प्रजिअ यादवले दिए ।


























