करेन्ट लागेर भविचन्दको मृत्यु, काजक्रिया गर्नलाई खर्चको अभाव

Share this
780shares
मुलुकी खबर
रवीन्द्र बराल
clock२०८२ असोज ८, बुधबार १२:५९

रंगेली । मोरङको रंगेली नगरपालिका–२ दिनाटोलमा करेन्ट लागेर मृत्यु भएका ३५ वर्षीय भविचन्द साहको घरमा शोकसँगै आर्थिक अभावको डबल पीडा छाएको छ ।

परम्परागत विधिअनुसार काजक्रिया गर्नसमेत खर्चको अभाव छ । पैसाको अभावले किरिया गर्न नसक्ने बाध्यतामा रहेकी पत्नी अमृता साहले समाजका मनकारीहरूसमक्ष सहयोगको लागि सार्वजनिक अपिल गरेकी छन् ।

प्रहरीका अनुसार असोज १ गते बिहान टिनको छानो भएको घरमा काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा भविचन्दको घटनास्थलमै मृत्यु भएको थियो । असामयिक रूपमा पति गुमाएकी अमृतालाई स–साना ३ छोराहरू खेमराज, महेश र गोपाललाई कसरी हुर्काउने भन्ने चिन्ता बढेको छ ।

साना नाबालक छोराहरु कसरी हुर्काउने भन्ने तनावमा रहेकी उनले पतिको काजक्रिया गर्न आवश्यक रकम जुटाउन नसकेको पीडा पनि सँगै बोकेकी छन् । परिवारमा भविचन्दका वृद्ध बुवा बच्चो साह र आमा घुर्नेदेवी साह दुवैजना विगत १५ वर्षदेखि शारीरिक रूपमा अशक्त छन् ।

दैनिक ज्यालादारी मजदुरीमा भर परेका उनका कान्छा भाइ प्रल्हाद साहलाई ७ जनाको परिवार धान्न समस्या भइरहेको छ । ‘दुई छाक टार्न नै मुस्किल परेको छ । पति (श्रीमान)को काजक्रियासम्म गर्न नसक्ने परिस्थिति आएको छ,’ अमृता भन्छिन् । उनको भनाइमा सारा परिवारको पीडा झल्किन्छ ।

मृतक भविचन्द साहको परिवार अहिले हिन्दु परम्पराअनुसार काजक्रिया सम्पन्न गर्न र अनाथ भएका बालबालिकाको पालनपोषणमा थोरै भए पनि सहयोग गर्न सबैमा अपिल गरेको छ । अत्यन्तै विपन्न अवस्थामा रहेको परिवारलाई इच्छुक व्यक्तिहरूको सानोतिनो सहयोगले पनि ठूलो राहत हुने पीडितको भनाइ छ ।

भविचन्दको पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर छ । उनको परिवार विगत वर्षदेखि नै १ कट्ठा जग्गामा बसोबास गर्दै आएको थियो । त्यो जग्गामा बनेको सानो झुप्रो घरबाहेक परिवारसँग आम्दानीको स्रोत केही नभएको स्थानीय बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.