
विराटनगर । ‘दाहाल प्रतिष्ठान’ अन्तर्गत स्थापित कोषहरूबाट समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरिने भएको छ ।
स्वर्गीय विद्यादेवी, बाबुराम–सरस्वती दाहाल सेवा कोषबाट स्थापित ‘विराट सामाजिक सम्मान’ बाट पं. भवानी शंकर निरौला, माया घरकी सुभद्रा प्याकुरेल र मानव सेवा आश्रमका नवराज केसी सम्मानित हुने भएका हुन् ।
त्यसैगरी, सोही कोषबाट वराहक्षेत्र गुरुकुलका युगल दाहाल र उदयपुर गुरुकुलका पुष्पराज भट्टराईलाई पनि प्रोत्साहन स्वरूप नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले सोही अवसरमा ‘स्व. पं. जानकीवल्लभ–चन्द्रप्रभा दाहाल स्मृति कोष’का तर्फबाट दमकका कुलबधु दोयनालाई ‘सामाजिक सम्मान’ र यमुना कोइराला दाहाललाई ‘वर्ष कुलबधु सम्मान’ प्रदान गर्ने निर्णय भएको छ ।
स्व. पदमप्रसाद–अम्बिकादेवी दाहाल स्मृति कोषका तर्फबाट भक्ति दाहाललाई ‘लेखन तथा साहित्य सम्मान’ प्रदान गरिने भएको छ ।
सोही कोषबाट नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकलाई ‘पत्रकारिता सम्मान’, सुमितकुमार खड्कालाई ‘राष्ट्रिय गायक सम्मान’ र ललितनारायण राजवंशीलाई ‘वर्ष खेलाडी सम्मान’ बाट सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ ।
स्व. चन्द्रकान्त–दिव्यश्वरा दाहाल स्मृति कोषको तर्फबाट धनमाया दाहाललाई ‘वर्ष आमा सम्मान’ प्रदान गरिने छ भने सोही कोषबाट पोखरिया माविका उदय सिटौला र आदर्श माविका शुभेच्छा दाहाललाई उत्कृष्ट छात्रछात्रा सम्मानबाट पुरस्कृत गरिने भएको छ ।
दाहाल प्रतिष्ठानका महासचिव सूर्य दाहालका अनुसार सोही समारोहमा प्रतिष्ठानको तर्फबाट बाबुराम दाहाललाई ‘अक्षय कोषदाता सम्मान’, कमलराज दाहाललाई ‘जग्गादाता सम्मान’ र धिरेन्द्र दाहाललाई ‘संरचना निर्माता सम्मान’ प्रदान गरिने छ । असोज ११ गते सम्मान तथा पुरस्कार समर्पण गरिने छ ।























