
विराटनगर । समाजका विपन्न वर्गलाई सहयोग पुर्याउँदै आएको विराटनगर लेडिज सर्कल ५ ले चाडपर्वको खुसी बाँड्न विपन्न परिवारलाई कपडालगायतका सामग्रीहरु वितरण गरेको छ ।

विजयादशमी, शुभदीपावली र छठलगायतका पर्वको अवसरमा विराटनगर महानगरपालिका–१८ जतुवास्थित कृष्ण गौ सेवा सदनमा एक कार्यक्रमको आयोजना गर्दै लत्ताकपडालगायतका सामान वितरण गरेको हो ।

विराटनगर लेडिज सर्कल ५ की अध्यक्ष एवं महिला उद्यमी कुसुम लुनियाले ५ सयभन्दा बढी विपन्न तथा गरिब परिवारलाई लत्ताकपडा र खेलौना सामग्री वितरण गरेको जानकारी दिइन् ।

उनले कार्यक्रममा गरिब तथा विपन्न परिवारलाई लत्ताकपडा र खेलौनासहित खाना र आइसक्रिम वितरण गरेको बताइन् ।

चाडपर्वको समयमा सबैले नयाँ लुगा लगाउने परम्परा भए पनि आर्थिक अभावका कारण कष्टकर जीवन बिताइरहेका परिवारमा खुसी ल्याउन सहयोग पुर्याउने उद्देश्यले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको लुनियाले बताइन् ।

त्यस अवसरमा महिला तथा बालबालिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष लुनियाँसँगै सचिव प्रीति चचान र कोषाध्यक्ष मोहिनी लुनियालगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।




























