
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका आगजनीको घटनापछि प्रमुख ३ नेताको घरमा भेटिएको भनिएका जलेका नोटबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले औपचारिक अनुसन्धान अघि बढाएको छ ।
विभागले घटनास्थलमा पुगेर खरानी, जलेका नोटका टुक्रा र घरको अवस्था टिपोट गर्दै मुचुल्का खडा गरेको हो । अनुसन्धानको घेरामा परेका नेतामा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन ऊर्जामन्त्री दीपक खड्का परेका छन् ।
यी नेताहरूको निवासमा भएको आगजनीपछि सामाजिक सञ्जालमा ठूलो परिमाणको नगद रकम जलेको देखाइने भिडियो र तस्बिरहरू सार्वजनिक भएपछि विभाग सक्रिय बनेको हो । विभागको टोली मंगलबार प्रचण्डको तत्कालीन खुमलटारस्थित निवास पुगेको थियो ।
त्यहाँ आगलागीपछि घरभित्र रहेको भनिएको नगद खरानीमा परिणत भएको देखिने भिडिओसँग घटनास्थल मिल्छ–मिल्दैन भन्ने आधारमा विवरण संकलन गरिएको छ । विभागले त्यहाँ भेटिएका केही जलेका नोटका टुक्रा र खरानी मुचुल्का गरेर नियन्त्रणमा लिएको छ ।
यसअघि विभागले देउवा र खड्काको घरमा पुगेर पनि सोही प्रकृतिको मुचुल्का तयार गरिसकेको छ । दुवै घरबाट जलेका नोटका अंश, खरानी तथा वरपरको अवस्थाबारे विवरण संकलन गरी अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ ।
प्रारम्भिक अनुमानअनुसार ठूलो परिमाणको रकम लुटपाट भइसकेको र बाँकी पनि अधिकांश जलेको देखिन्छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओ र तस्बिरहरू विभागले फरेन्सिक ल्याबमा पठाउने तयारी गरेको छ । कतिपय भिडियो नेपालबाहिर खिचिएका वा वास्तविक घटनासँग मेल नखान सक्ने आशंका भएकाले परीक्षणपछि मात्र सत्यतथ्य पुष्टि हुने बताइएको छ।
यदि जलेको नोट वास्तविक भएको पुष्टि भयो भने त्यसको स्रोत, कानुनी स्थिति र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाइनेछ । हालै मात्र प्रधानमन्त्रीको मातहतबाट अर्थ मन्त्रालय मातहत ल्याइएको विभागले यस घटनालाई गम्भीर मानेर अनुसन्धान अघि बढाएको छ ।
हाल देउवा र प्रचण्डको निवासमा प्रवेश रोक लगाइएको छ । विभागको टोलीले घटनास्थलबाट संकलित जलेका नोटका टुक्रा प्रहरीलाई बुझाइसकेको छ भने केही व्यक्तिहरूले आफूसँग रहेका जलेका नोट पनि अनुसन्धानका लागि उपलब्ध गराएका छन् ।
जेनजी आन्दोलनपछि सार्वजनिक भएका भिडियो र दाबीहरूमध्ये के वास्तविक हो र के प्रचार मात्र हो भन्ने निर्णायक तथ्य भने अब विभागको वैज्ञानिक परीक्षण र विस्तृत अनुसन्धानपछि मात्र स्पष्ट हुने छ ।

























