
विराटनगर । नेपाल प्रहरीले नयाँ जनशक्ति भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक गरेको विज्ञापन अनुसार १ हजार ५ सय ९४ जनाका लागि आवेदन माग गरिएको हो । प्रहरी जवानमा १ हजार ५ सय ५३ तथा कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
प्रहरी जवानका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा कक्षा ८ उत्तीर्ण अनिवार्य गरिएको छ भने कार्यालय सहयोगी पदका लागि साधारण लेखपढ गर्न सक्ने योग्यता पर्याप्त हुनेछ । दरखास्त असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म दिन सकिनेछ ।
आवेदकले तोकिएको केन्द्रमा स्वयं उपस्थित भएर फाराम बुझाउनुपर्ने सूचनामा उल्लेख छ । जवान, हजाम र कुचीकारका लागि ७ वटै प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रहरी परिसरमार्फत दरखास्त दिन सकिनेछ ।
खेलाडीका लागि भने काठमाडौंस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा मात्र दरखास्त फाराम बुझाउन पाइनेछ ।


























