कालीमन्दिरको धार्मिक ब्यानर च्यातेको आरोपमा साइन हबका कर्मचारी प्रहरीको नियन्त्रणमा

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १०, शुक्रबार १५:३६

विराटनगर । विराटनगरस्थित कालीमन्दिर क्षेत्रमा लगाइएको धार्मिक ब्यानर च्यातेको आरोपमा साइन हब प्रा.लिका २ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साइन हब विराटनगर महानगरपालिकाभरि तुल, ब्यानर र विज्ञापनको कर उठाउने ठेक्का पाएको कम्पनी हो । उक्त कम्पनीका कर्मचारीले कालीमन्दिर क्षेत्रमा स्थानीयले दसैँ, तिहार, नेपाल संवत, छठ पर्वको शुभकामना लेखेर लगाइएको धार्मिक ब्यानर शुक्रबार बिहान च्यातिदिएका थिए ।

आफूसँग स्वीकृति नलिइकन ब्यानर लगाइएको भन्दै हबले कर्मचारी खटाएर च्यात्ने र हटाउने गरेपछि कालीमन्दिर क्षेत्रमा केहीबेर तनाव भएको थियो । हबले खटाएका कर्मचारीले ब्यानर च्यातेर फालिदिएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

दोहोरो तनावको स्थिति उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसै क्रममा हबका कर्मचारी विनोद बानिया र द्वारिका रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै, हबका प्रबन्धक किरण गिरीसँग समेत घटनाका विषयमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले समयमै प्रहरीको उपस्थितिले कुनै समस्या हुन नपाएको बताइन् । ‘ब्यानर च्यातेर फालेको विषयमा दुई पक्षबीच विवाद भएको रहेछ । घटना थाहा पानउेबित्तिकै प्रहरीले स्थितिलाई नियन्त्रणमा लियो । साइन हबका २ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भनिन् ।

स्थानीयका अनुसार ब्यानर हटाउन भन्दै हबका कर्मचारी शुक्रबार बिहान ११ बजेतिर बोलेरो जिपसहित आएका थिए । गाडीको चाबी नियन्त्रणमा लिएर स्थानीय प्रतिकारमा उत्रिएका थिए । गाडीलाई भने स्थानीयले सुरक्षित राखिदिए ।

उक्त ब्यानरमा दुर्गा र लक्ष्मी भगवानका चित्रहरु थिए । चाडपर्वलाई लक्षित गरी बिहीबार बेलुका स्थानीय युवाहरुले स्वतःस्फूर्त रुपमा कालीमन्दिरमा बत्ती, ब्यानर र भगवानका चित्र अंकित तुल लगाएका थिए । तर, एक्कासि हबका कर्मचारीले च्यातेर हटाउन थालेपछि अवस्था केहीबेर तनावपूर्ण भएको प्रहरीले जनाएको छ ।

हबले भने महानगरकै निर्देशनमा ब्यानर हटाइएको दाबी गर्दै आएको छ । महानगरले नगरक्षेत्रभरिका गेट हटाउन निर्देशन दिएकोले कर्मचारी खटाइएको हबका प्रबन्धक गिरीले बताए ।

धार्मिक क्षेत्रमा गएर जथाभावी गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.