
विराटनगर । विराटनगरमा नयाँ लायन्स क्लब गठन भएको छ । लायन्स क्लब डिष्टिक ३२५ ए वानका पूर्वगभर्नर लिला ढुङ्गेलको अध्यक्षतामा लायन्स क्लब अफ विराटनगर सोसल गठन भएको हो । यो क्लबमा २९ जना सदस्य छन् ।
डिष्टिक ३२५ ए वानको २०१७–२०१८ को गभर्नर बनेका ढुंगेल नयाँ क्लबको संस्थापक बनेका हुन् । उनले गभर्नर भइसकेका व्यक्ति नयाँ क्लब गठन गरी काम गर्न सक्ने उदाहरण पनि प्रस्तुत गरेका छन् ।
लायन्स क्लब अफ नेपालका पूर्वईन्टरनेशनल डाइरेक्टर तथा कन्सटीच्युसनल एरिया लिडर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यमा बिहीबार क्लबकाे सदस्य र पदाधिकारीकाे पदस्थापन भएको हो ।
सन् १९१७ मा अमेरिकाको सिकागोमा मेल्विन जोन्सले स्थापना गरेको लायन्स क्लबको मुख्य उद्देश्य मानवताको सेवा र समुदायलाई सशक्त बनाउनु हो । नेपालमा ५४ वर्ष पहिले सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको सक्रियतामा लायन्स क्लबको सुरुवात भएको थियो ।























