
विराटनगर । विराटनगर महानगरपालिकाकाे प्रशासनिक भवन जलेको १९ दिनपछि मेयर नागेश कोइराला पालिकामा आएका छन् । गत भदौं १९ गते उनी अष्ट्रेलिया गएका थिए । महानगरपालिका आगजनी भएकाे १९ दिनपछि मेयर कोइराला कार्यालय पुगेका हुन् ।
आगजनी र तोडफोडका कारण महानगरको प्रशासनिक संरचना ध्वस्त भयाे । तर,उनले अष्ट्रेलिया भ्रमण छोट्याएनन् । उनी उपस्थित नहुँदा उपमेयर शिल्पा निरला कार्कीले महानगरको कार्यभार सम्हालिन् ।
उनी फर्किएपछि आइतबार विराटनगर महानगरपालिकाको कार्यपालिका बैठक टेन्टमुनि बसेको थियो । बैठकले प्रशासनिक भवनसहित आगजनी र तोडफोड भएका वडा कार्यालयहरुको पुनर्निर्माणलाई तीव्रता दिने, महानगरबाट प्रवाह हुने अत्यावश्यक सेवालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
आइतबार नै उनले क्षतिग्रस्ता संरचनाको निरीक्षण पनि गरे । जेनजी आन्दोलनका क्रममा क्षति भएको कोइराला निवाससहित महानगरको प्रशासनिक भवन, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको घर र कांग्रेस पार्टी कार्यालयको निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।
प्रजातान्त्रिक आन्दोलनको धरोहरका रुपमा रहेको कोइराला निवास पुग्दा मेयर कोइराला भक्कानिएको उनको सचिवालयले जनाएको छ । निवासलाई पहिलाकै अवस्थामा फर्काउन आफूले सक्दो सहयोग गने बताए ।
‘यो जलेको घरले देशमा आजको अवस्था ल्याउन अग्रणी भूमिका खेलेको थियो । इतिहासलाई भेट्ने प्रयास गरिएको छ ।’ उनले भने, ‘यही खरानीको घरको माटोमा उभिएर भन्छु हामी पहिलाकै अवस्थामा पुग्नेछौं । जेनजीले सोचेजस्तै नेपाल बनाउनेछौं ।’
पिताजी कृष्णप्रसाद कोइरालाले निर्माण गरेको कोइराला निवास भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको थियो । सोही घरबाट पिताजीले राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई फाटेको भोटे पठाएर आन्दोलन सुरु गरेका थिए ।
महानगरको निरीक्षणपछि भौतिक संरचना जले पनि जनताको सेवा गर्ने हिम्मत र साहस नजलेको प्रतिक्रिया दिए ।‘सम्पूर्ण कागजपत्र जलेका कारण जनताले नै दुःख पाउने अवस्था सिर्जना भएको छ, उनले भने,‘जे नहुनुपर्ने थियो भयो अब सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन ।’
अष्ट्रेलियामा रहँदा मेयर कोइरालाले एनआरएनएले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । सो क्रममा उनले विराटनगरको विकासका लागि मन खोलेर सहयोग गर्न आग्रह गरेका थिए ।

























