तस्बिरः फायलविराटनगर । बडादसैँ अन्तर्गत आज फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभ साइतमा विराटनगगरस्थित निशानी भगवती मन्दिरमा विधिपूर्वक पूजाअर्चना गरी फूलपाती भित्र्याइएको छ ।

नवरात्रको सातौँ दिन आज दसैँ घरमा हर्षोल्लासको साथ फूलपाती भित्र्याइएको हो । विराटनगरस्थित मोरङ जिल्ला अदालत हातामा रहेको निशानी भगवतीको मन्दिरबाट पूजाआजा गरी फूलपाती डोलीमा राखी डोलीलाई बगलामुखी मन्दिरमा लगी पूजा गरियो ।

निशानी भगवती मन्दिरबाट डोलीमा फूलपाती राखेर बगलामुखी मन्दिरमा पुगेर पूजाआजा गरे पश्चात मेन रोडमा रहेको काली मन्दिर हुँदै पुन : निशानी भगवती मन्दिर पुगेर त्यहाँ पनि पूजाआजा गर्दै फूलपाती बढाइँ गरिन्छ ।

फूलपाती बढाइँमा मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, लेखापढी कानुन व्यवसायी, कानुन व्यवसायी लगायत सर्वसाधारणको सहभागिता थियो ।

विगतमा फूलपाती बढाइँका क्रममा बगलामुखी मन्दिर र निशानी मन्दिरमा बन्दुक पड्काएर भगवतीका सलामी दिइँदै आए पनि यस वर्ष प्रहरीले ब्यान्डले मात्रै सलामी दिइएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण यस वर्ष बन्दुक पड्काएर सलामी नदिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

विराटनगर बाहेक मोरङको पुरानो सदरमुकाम रंगेलीमा पनि फूलपाती भित्र्याउने गरिन्छ ।
























