
विराटनगर । दसैँको ९ औं दिन नवमीको अवसरमा विराटनगर– रंगेली पैदल निशान ध्वजा यात्रा आज सम्पन्न भएको छ ।

विराटनगरको काली मन्दिरदेखि रंगेलीको काली मन्दिरसम्म नवमीको दिन निशान ध्वजा बोकेर यात्रा गरिएको छ । विगत ९ वर्षदेखि निरन्तर रूपमा निशान ध्वजा यात्रा रंगेलीको काली मन्दिर निशान यात्रा व्यवस्थापन समिति आयोजना गर्दै आएको हो ।

विराटनगरदेखि रंगेलीसम्म करिब २५ किलोमिटरको दूरी भक्तजनहरू भगवानको ध्वजावाहक झन्डा बोकेर पैदल यात्रा गर्ने गरेका छन् ।

यात्रामा सबै उमेर समूहहरूको सहभागिता हुने गरेको छ । आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ यात्रामा सहभागी हुने गरेको बताइएको छ ।

विराटनगरको काली मन्दिरबाट सुरु भएको यात्रामा सहभागीहरूले ठाउँ ठाउँमा बनाइएका मन्दिरमा पूजाआजा गर्दै रंगेलीको प्रख्यात मन्दिर संन्सारीमाई मन्दिरमा पुगेर पूजाआजा गरेपछि मात्रै काली मन्दिरमा गएर पूजाआजा गरेपछि यात्रा पूरा हुने छ ।
निशान यात्रामा यस पटक सहभागी हुनका लागि ५ हजारभन्दा बढी भक्तजनहरूले रसिद काटेर नाम टिपाएको समितिले जनाएको छ । पैदल यात्रा व्यवस्थापन समितिले पैदल यात्रीको सहजताका लागि बस, सिटी सफारी लगायतका व्यवस्था गरेको छ ।

लामो दूरी यात्रा घाममा गर्नुपर्ने भएको हुँदा कोही हिँड्न नसक्ने, हिँड्दाहिँड्दै स्वास्थ्यमा समस्या जस्ता कुरालाई विशेष ध्यानमा राखेर सम्पूर्ण व्यवस्थापन गरिएको बताइएको छ ।

काली मन्दिरमा पैदल यात्राले गरेको सहयोगबाट सोही दिन साँझमा भन्डारा गर्ने गरिएको छ ।























