ताप्लेजुङमा विपद् व्यवस्थापन समितिको सतर्कता : सम्भावित बाढी पहिरोप्रति उच्च तयारी

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १७, शुक्रबार १६:४०
ताप्लेजुङमा विपद् व्यवस्थापन समितिको सतर्कता : सम्भावित बाढी पहिरोप्रति उच्च तयारी

ताप्लेजुङ । आगामी दिनमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोको जोखिमलाई ध्यानमा राख्दै आवश्यक उपकरण र जनशक्तिसहित तुरुन्त परिचालित हुन सरोकारवालालाई निर्देशन दिएको छ ।

समितिका अध्यक्ष तथा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडीयो) शिवराज सेढाइले सरोकारवालासँग बैठकमार्फत ७ बुँदे निर्देशन र सुझाव सार्वजनिक गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

समितिले अत्यावश्यक बाहेक राति यात्रा नगर्न, वर्षा र सडकको अवस्था नियालेर मात्र सवारी सञ्चालन गर्न, पहिरो सम्भावित क्षेत्र र नदी किनारका बस्तीका बासिन्दाले सुरक्षित स्थानबारे अग्रिम जानकारी लिन र जोखिम बढेमा तत्काल सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ ।

सम्भावित विपद् आइहाले राहत तथा उद्धारका लागि आवश्यक जनशक्ति र उपकरणसहित परिचालन हुन जिल्लास्थित नेपाली सेनाको दुर्गा दल गुल्म, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म कञ्चनजंघा साथै नेपाल रेडक्रस सोसाइटी सहितका सामाजिक संस्थालाई समितिले निर्देशन दिएको हो ।

मौसम विद्धहरूले असोज २० गतेसम्म भारी वर्षा हुने अनुमान गरेको हुँदा बाढी पहिरोको जोखिम बढ्न सक्ने भएकाले स्थानीय तह विपद् व्यवस्थापन समितिलाई समेत सजग रहन आग्रह गरिएको समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.