पाँचथर दुर्घटना अपडेट : ६ जनाकाे मृत्युु, ६ जना घाइते

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १८, शनिबार १४:३३

विराटनगर । ताप्लेजुङबाट धरान आउँदै गरेको एउटा गाडी शनिबार दिउँसो तमोर नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङबाट धरानका लागि हिँडेको गाडी तमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार गाडीमा सवारको संख्या नखुले पनि ३ पुरुष र ३ महिलाको घटनास्थलमै मृत्यु भएको छ भने उनीहरूको पहिचान खुल्न बाँकी रहेको छ ।

शनिबार बिहान ७ः३० बजेतिर ताप्लेजुङको मिक्वाखोलाबाट यात्रु लिएर धरानका लागि हिँडेको मे १ ज ३०५५ नम्बर बलेरो पिकअप गाडी दिउँसो १ : १० बजेतिर  सडकबाट करिब ४ सय मिटर तल तमोर नदीको किनारमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटना भएको खबर आउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय यासोकको प्रहरी टोली उद्धारका लागि पुगेको बताइएको छ ।

एसएसपी पोखरेलले भने,  ‘हालसम्म उक्त गाडीमा चालकसहित १२ जना यात्रु रहेको खुलेको छ । तीमध्ये ६ जनाको मृत्यु भइसकेको छ भने ६ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । चालकको बाहेक अन्यको पहिचान खुलेको छैन ।’

घाइते भएको चालक ताप्लेजुङ मेरिङदिन गाउँपालिका–२८ का महेश लिम्बूसहित ६ जनाको उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका मध्ये ५ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र १ जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.