
सोलुखुम्बु । सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ । हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ ।
यसवर्ष भने असोजको तेस्रो सातामै हिउँ परेपछि खुम्बु क्षेत्र सेताम्य भएको छ । यस क्षेत्रमा असोजमा हिउँ पर्नु दुर्लभ मानिन्छ । यसपटकको असोजको हिमपातले स्थानीय, व्यवसायी र आरोहण टोली प्रभावित भएका छन् ।
गत आइतबार बिहानदेखि सुरु भएको भारी वर्षापछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परेको छ । लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र सेताम्य बनेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार आइतबार परेको हिमपातले खुम्बुको माथिल्लो क्षेत्रको छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको थियो ।
“नाम्चेभन्दा माथिल्लो क्षेत्रमा परेको हिउँले जनजीवन प्रभावित बनाएको छ”, अधिकारीले भने, “दिङ्बोचे क्षेत्रमा पाँच वटा होटेल हिमपातबाट प्रभावित भएका छन्, तर मानवीय क्षति भने भएको छैन ।”
दिङ्बोचे क्षेत्रका पाँच होटेल जस्तासहितका संरचना हिउँको भार थेग्न नसकी भास्सिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजित कुँवरले भने, “हिउँको भार र लगातारको वर्षाले छानाको संरचना भत्किँदा पाँच होटेल भासिएका हुन् । मानवीय क्षति नभए पनि आर्थिक क्षति भने भएको छ ।” पर्यटन याम सुरु भइसकेका बेला परेको हिमपातले व्यापारीलाई थप चिन्तित बनाएको उनको भनाइ छ ।
असामान्य मौसमी परिवर्तन
खुम्बुमा असोजमै हिउँ पर्नु असामान्य मानिन्छ । सामान्यतया मंसिरदेखि माघमा मात्र यहाँ बाक्लो हिमपात हुन्छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने, “हिउँ असोजमा पर्नु जलवायु परिवर्तनको संकेत हो । मैले असोज महिनामा हिउँ परेको घटना कमै मात्रामा देखेको छु । यो दुर्लभ घटना हो ।”
उनका अनुसार, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा मौसमको स्वरूप अनिश्चित बन्दै गएको छ । पहिले निश्चित समयमा हिउँ पर्ने र पग्लिनेक्रम हुन्थ्यो, अहिले त्यो तालमेल नरहेको उनको भनाइ छ ।
हिमाल जोगाऔँ, जलवायु सन्तुलन राखौँ
खुम्बुका बासिन्दाले असोजमै हिमपातपछि जलवायु सन्तुलनका लागि स्थानीय तह र सरकार दुवैले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
“हामीले केही वर्षयता जलवायु परिवर्तन महसुस गर्दै आएका छौँ”, नाम्चेका सुमन मोक्तानले भने, “अहिले हिउँ असामान्य समयमा पर्छ, गर्मी असामान्य बेला आउँछ । यो हिमालको स्वरूप बदलिँदैछ ।”

























