कोशी प्रदेश सरकारले पठायो इलाम, मोरङ र झापामा राहत सामग्री

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २१, मंगलबार १५:५२

विराटनगर । अविरल वर्षापछिको बाढीपहिरोका कारण जनधनको क्षति भएको इलाम, मोरङ र झापामा कोशी प्रदेश सरकारले राहत सामग्री पठाएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पठाइएको हो । लगातारको वर्षाले इलाममा सबैभन्दा धेरै मानवीय क्षति भएको थियो । झापा र मोरङका धेरै स्थानमा डुबानले जनजीवन अस्तव्यस्त बनाएको थियो ।

वर्षापछिको बाढी र पहिरोले सडकहरू अवरुद्ध भएका छन् । दर्जनौं घर क्षतिग्रस्त भएका छन् । दर्जनौँ परिवार बासस्थानविहीन बनेका छन् ।

कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार सडक खुला रहेका स्थानमा ट्रकमार्फत र स्थलमार्गबाट सम्भव नभएका स्थानमा नेपाली सेनाको सहयोगमा हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको छ । राहतमा चामल, दाल, तेल, नुन, आलु, बेसार, त्रिपाल, कपडा, ब्ल्यांकेट, औषधि र अन्य दैनिक उपभोग्य वस्तुहरू समावेश छन् ।

स्थलमार्गबाट पुग्न नसकिने इलामको माङ्सेबुङ, देउमाई, सूर्योदय, माईजोगमाई र फाकफोकथुमलगायतका क्षेत्रमा मंगलबार सेनाको हेलिकप्टरमार्फत राहत पुर्याइएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इलाम पुगेर बाढीपहिरो प्रभातिव क्षेत्रको स्थलगत अवलोकन गर्दै स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायसँग राहत तथा उद्धारको समन्वयबारे छलफल गरेका छन् ।

उनले प्रभावित परिवारहरूलाई सान्त्वना दिँदै प्रदेश सरकार आफ्ना सीमित स्रोतसाधनभित्र रहेर सहयोग गर्न प्रतिवद्ध रहेको बताएका छन् । इलाममा पहिरोमा परेर हालसम्म ३८ जनाको मृत्यु भइसकेको छ ।

दर्जनौं घर परिवार विस्थापित भएका छन् । मोरङ र झापामा डुबान एवं कटानका कारण जनजीवन अस्तव्यस्त बनेको थियो । प्रभावित परिवारलाई राहत दिनेदेखि घरविहीन परिवारका लागि त्रिपाल र अस्थायी आवासको व्यवस्था गर्न प्रदेश सरकार सक्रिय बनेको मुख्यमन्त्री कार्कीले बताए ।

प्रदेश सरकारले उद्धार, राहत र पुनर्निर्माणको कामलाई एकसाथ अघि बढाउने नीति लिएको छ । मुख्यमन्त्री कार्कीले इलाम जिल्लाको विपद्को पछिल्लो स्थितिका बारेमा जानकारी लिँदै खोज उद्दार, राहत र अवरुद्ध भएका सडकलाई सुचारु गर्ने सम्बन्धमा जिल्ला विपद् व्यस्थापन समितिसँग छलफल गरेका छन् ।

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरु र प्रदेशका सचिवहरुबीच विपद्पछि उत्पन्न परिस्थिति, राहत र पुनःस्थापनाका विषयमा बैठक राखेका छन् । बैठकमा उनले बाढी एवं पहिरोबाट पीडित बनेकाको उद्धार, राहत र पुनःस्थापनामा प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.