
सर्लाही । सर्लाहीको एक प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा गोडैता नगरपालिका–७ का वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीमा प्रहरी चौकीमाथि आक्रमण गरी तोडफोड गरेको आरोपमा गोडैता –७ का वडाध्यक्ष छोटेलाल भन्ने बिनेशकुमार दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गत शनिबार गोडैता बजारमा दुर्गा पूजाको चन्दाको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो । उक्त विवाद नियन्त्रणमा लिन प्रहरी चौकी गोडैताको टोलीले रामनगर गाउँपालिका–५ का अनिल राय यादवलाई नियन्त्रणमा लिएपछि वडाध्यक्ष दाससहितको समूहले प्रहरी चौकीमाथि ढुंगामुढा गर्दै तोडफोड गरेपछि उनलाई पक्राउ गरेको बताइएको छ ।
दाससहितको समूहले ढुंगामुढा र तोडफोड गर्दा चौकीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) अवधेशप्रसाद यादवको मुखमा ढुंगा लाग्दा अगाडिका २ वाट दाँत भाँचिएका छन् ।
यादवसहित घाइते भएका अन्य ५ जना प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको आक्रमणका क्रममा ३ वटा मोटरसाइकलमा क्षति पुगेको छ ।
सई यादवको प्रतिवेदनका आधारमा वडाध्यक्ष दासविरुद्ध कुटपिट, अंगभंग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता भएको छ ।
पक्राउ परेका वडाध्यक्ष दासलाई जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।























