
इलाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ अविरल वर्षापछिको बाढीपहिरोले अस्तव्यस्त बनेको इलाममा पहिलोपटक पुगेका छन् ।
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उनले पीडित परिवारसँग भेटघाट गरी राहत वितरणसमेत गरे । तर, बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि आउने भनिएका गृहमन्त्री ओमप्रकाश अर्याल भने अनुपस्थित रहे ।
मन्त्री घिसिङ शनिबार बिहान इलाम पुगेका थिए । उनले माइखोलास्थित टापु क्षेत्रका बाढीपीडित २८ परिवारलाई खाद्यान्न र अन्य राहत सामग्री वितरण गरे । बाढीले बगाएका घरहरू र विस्थापित नागरिकको अवस्था नजिकबाट बुझ्दै उनले तत्काल आवास तथा खानेपानीको व्यवस्था मिलाउन र यातायात सुचारु गर्न पहल गर्ने आश्वासन दिएका छन् ।
उनले मेची राजमार्गको राजदुवाली सडक खण्डको निरीक्षण गरेका छन् । जहाँ बाढीपहिरोका कारण ८ दिनदेखि सडक अवरुद्ध छ । मन्त्री घिसिङले उक्त सडक खोल्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।
उनले सडक सञ्चालनका विषयमा भूगर्भविद्, नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन सडक कार्यालय इलामका इन्जिनियरहरूसँग छलफलसमेत गरेका छन् । सडक अवरुद्ध हुँदा इलाममा इन्धन, अत्यावश्यक खाद्यवस्तु र औषधि ढुवानी ठप्प भएको छ । स्थानीय पेट्रोल पम्पहरूमा इन्धन सकिएको छ भने जिल्लास्थित अस्पतालहरूले आवश्यक औषधि र अक्सिजनको अभाव भएको जनाएका छन् ।
मन्त्री घिसिङले विपद् व्यवस्थापनलाई ‘संघीय सरकारको साझा जिम्मेवारी’ भन्दै तत्काल सहयोगका लागि संघीय निकायहरू सक्रिय भइरहेको दाबी गरेका छन् । तर, स्थानीय तहका जनप्रतिनिधि र सर्वसाधारणले भने मन्त्री घिसिङले इलाम नगरपालिकाको मात्र अवलोकन गरेको भन्दै असन्तोष प्रकट गरेका छन् ।
प्राकृतिक प्रकोपले अरु पालिकाहरूमा पनि ठूलो क्षति गरेको थियो । तर, प्रभावित भएका सबै पालिकाहरुमा मन्त्री नपुगेको भन्दै घिसिङको आलोचना भएको हो ।
गत असोज १८ गतेदेखिको अविरल वर्षापछिको बाढी र पहिरोले इलाममा ठूलो जनधनको क्षति गरेको थियो । बाढी र पहिरोले विभिन्न स्थानमा घर, सडक, पुल र खेतीबारी बगाएको थियो ।
बाढीपहिरोमा परेर हालसम्म इलाममा ३९ जनाको मृत्यु भइसकेको छ । १ जना अझै बेपत्ता छन् । विस्थापित भएका २ सय ६५ परिवारमध्ये १ सय ७२ परिवार इलाम नगरपालिकाका मात्रै छन् ।
स्थानीयले उद्धार र राहतसँगै दीर्घकालीन पुनर्निर्माण र स्थायी बसोबासको पहल गर्न सरकारसँग माग गरेका छन् । मन्त्री घिसिङले उक्त माग सम्बोधन गर्न संघीय र प्रदेश सरकारबीच सहकार्य हुने आश्वासन दिएका छन् ।
इलामका कतिपय बाढीपहिरोपीडित अहिले पनि अस्थायी शिविरमा बस्दै छन् । त्यहाँका पीडितले केही राहत पुगे पनि पुनःस्थापनाको स्पष्ट योजना सरकारबाट अझै नआएको गुनासो गरेका छन् । सरकारले इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।


























