रंगेलीमा व्यक्तिको नाममा पुग्यो सरकारी जग्गा, हतार हतार बदर गरेर सरकारकै नाममा ल्याइयो

Share this
754shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ असोज २५, शनिबार १८:०७

विराटनगर । योजनाबद्ध रूपमा व्यक्तिको नाममा लगिएको मोरङको रंगेली नगरपालिका–२ (साविक बबियाबिर्ता–३) को १ बिगाहा १९ धुर जग्गा सरकारकै नाममा ल्याइएको छ ।

मालपोत र नापी कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर व्यक्तिको नाम दर्ता गरिएको जग्गा व्यक्तिबाट बदर गरेर सरकारकै नाममा ल्याइएको हो । हुलाकी राजमार्गसँग जोडिएको कित्ता नम्बर १७४ को १ बिगाहा १९ धुर सरकारी जग्गा शुक्रबार सरकारको नाममा ल्याइएको मालपोत कार्यालय रंगेलीका प्रमुख सुनील पौडेलले बताए ।

यो प्रकरण मालपोत कार्यालय रंगेली मोरङका कर्मचारी र भूमाफियाको संगठित सञ्जालले सरकारी अभिलेख (ढड्डा)को पाना च्यातेर व्यक्तिको नाममा सुनवर्षी नगरपालिका–६ को १७ कट्ठाभन्दा बढी ऐलानी जग्गा दर्ता गरेको विषयभन्दा अलग्गै हो । उक्त प्रकरण सेलाउन नपाउँदै त्यो भन्दा धेरै जग्गा हिनामिना गरिएको अर्को काण्ड सार्वजनिक भएको छ ।

सरकारी जग्गा हिनामिना गरेर व्यक्तिको नाममा लगिएको अर्को प्रकरण बाहिर आएको हो । यी २ घटनाले धेरै सरकारी जग्गा व्यक्तिका नाममा लगिएको हुनसक्ने आशंकालाई बल पुगेको छ । ४ करोडभन्दा बढी मूल्य पर्ने रंगेली–२ को जग्गा हतार हतार गरेर सरकारकै नाममा ल्याइएको छ । ‘कर्मचारीले कारबाहीबाट जोगिन र भूमाफियालाई पनि जोगाउनका लागि जग्गा व्यक्तिको नामबाट बदर गरेर तत्काल सरकारको नाममा ल्याएका हुन्,’ स्रोतले भन्यो ।

सरकारकै नाममा फिर्ता ल्याइएको १ बिगाहा १९ धुर जग्गा व्यक्तिको नाममा लानलाई भूमाफिया र कर्मचारीको मिलोमतो रहेको पाइएको छ । उक्त जग्गालाई रंगेली–२ का लीला खरेल नामका व्यक्तिले मालपोत र नापी कार्यालयका कर्मचारीसँगको मिलेमतोमा आफ्ना ८० वर्षीय अशक्त बुवा छविलाल खरेलको नाममा दर्ता गराएको पत्ता लागेको हो ।

यो विषय बाहिरिएपछि खरेललाई कारबाहीबाट जोगाउने र आफू पनि कारबाहीमा नपर्ने योजनाअनुरुप मालपोतका कर्मचारीकै सहयोगमा हतार हतार व्यक्तिको नामबाट बदर गरेर जमिन सरकारको नाममा ल्याइएको स्रोतको भनाइ छ । लीला खरेलले नै २०८० सालमा २ नम्बर वडा कार्यालयमा उक्त जग्गा ऐलानी (सार्वजनिक) भएको र आफूले २०५० सालदेखि भोगचलन गर्दै आएकोले आफ्नो नाममा दर्ता गरिपाउँ भनी निवेदन दिएका थिए ।

प्रक्रिया भने अघि बढेको थिएन । तर, कर्मचारीसँग ‘सेटिङ’ मिलाएर २०८२ साल असार ३१ गते उक्त जग्गालाई किर्ते कागजातका आधारमा आफ्नो बनाउँदै बिक्री गर्न उनी सफल भएका थिए । साविकमा कित्ता नम्बर १२९ को जग्गा फिल्डबुकमा जंगलको थियो । ७ बिगाहाको प्लट रहेको सो कित्ता १७२, १७३ र १७४ गरी ३ कित्तामा विभाजित थियो ।

त्यसमध्ये कित्ता नम्बर १७२ र १७३ मेची–कोशी उच्चस्तरीय आयोगले केही व्यक्तिलाई वितरण गरे पनि कित्ता नम्बर १७४ को करिब १ बिगाहा १९ धुर जग्गा सरकारी नाममै खाली रहेको थियो । नापी कार्यालयको फिल्डबुकमा समेत उक्त कित्ता ‘खाली’ भनेरै जनाइएको छ । जग्गा कसैको नाम थिएन ।

भूमाफियाको आँखा परेको उक्त जग्गा मालपोत कार्यालयको स्रेस्तामा किर्ते गरी कुनै स्रोत र आधारबिना नै कर्मचारीसँगको मिलेमतोमा छविलाल खरेलको नाममा चढाउने काम भयो । उक्त किर्ते लालपुर्जालाई २०४६ सालमा जारी भएको देखाउन मितिसमेत किर्ते गरिएको पाइएको छ । यो प्रक्रियामा नापी कार्यालयको प्लट रजिस्टर च्यात्ने र मालपोतको स्रेस्तामा नक्कली विवरण थप्नेजस्ता किर्ते काम गरिएको स्रोतको भनाइ छ ।

किर्ते कागजात तयार भएपछि लीला खरेलले उक्त जग्गा हडप्न तीव्र गतिमा काम अघि बढाएको देखिन्छ । उनले बुवाको नाममा रहेको जग्गाबाट ३ कट्ठा नवीन पुरीलाई बिक्री गरिसकेका छन् । त्यस्तै, उनले १ कट्ठा शान्ता निरौलाको नाममा र १४ कट्ठा १४ धुर जग्गा नवीना निरौलाको नाममा पास गराउने तयारी गरेका थिए ।

मालपोत प्रमुख पौडेलका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर कित्ताकाट गर्दै बिक्री गरिएको पत्ता लागेको छ । कित्ताकाट गरिएका सबै कित्ता खारेज गरिसकिएको र शुक्रबारबाट उक्त जग्गा सरकारको नाममा आइसकेको उनले बताए ।

सरकारी जग्गा व्यक्तिको नाममा लैजान लीला खरेललाई साथ दिएका कर्मचारीले सरकारको नाममा ल्याउन पनि त्यसरी नै सहयोग गरेका हुन् । यो प्रकरणमा ‘सेटिङ’ गर्ने कर्मचारीको नाम पनि प्राप्त भइसकेको छैन । ‘कार्यालय प्रमुख बाहिर गएर अरु कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा लगिएको थियो । उक्त प्रकरणले काम योजनाबद्ध रूपमा भएको पुष्टि हुन्छ,’ स्रोतले भन्यो ।

आफ्नो नाममा जग्गा आए पनि ८० वर्षीय छविलाल खरेललाई भने यो विषयमा कुनै जानकारी नभएको बताइएको छ । उनी कान नसुन्ने र शारीरिक रूपमा अशक्त छन् । छोरा लीलाले उनको नाम दुरुपयोग गरेर सरकारी जग्गा बाबु छविलालको नाममा लगेको स्रोतको भनाइ छ ।

धेरै मूल्य पर्ने सार्वजनिक जमिनलाई नक्कली कागजातका आधारमा हडपिएको गम्भीर घटनाले रंगेली क्षेत्रमा भूमाफियाको सञ्जाल बलियो रहेको प्रष्ट हुने स्रोतको भनाइ छ । मालपोत प्रमुख पौडेलले जग्गा फिर्ता ल्याएको भए पनि किर्ते प्रकरणमा भने छानबिन हुने बताए ।

मालपोत प्रमुख सुनील पौडेल ।

रंगेली नगरपालिकाले सार्वजनिक जग्गा व्यक्तिको नाममा रहेको भन्दै छानबिनका लागि सहयोग गर्न मालपोतलाई पत्र पठाएको थियो । नगरपालिकाको पत्रपछि मालपोत कार्यालयले संलग्न व्यक्तिलाई ७ दिनभित्र स्वामित्वको प्रमाण पेस गर्न असोज २२ गते निर्देशन दिएको पौडेलको भनाइ छ ।

तर, लीला खरेलले जग्गा आफ्नो बुवाको नाममा रहेको भनेर निवेदन दिएको र आवश्यक प्रमाण भने पेस गर्न नसकेको पौडेलले बताए । ‘७ दिनको म्याद दिएर स्वामित्वको प्रमाण पेस गर्न भनिएको थियो । तर, २ दिनमै विना आधारको निवेदन आयो । चित्तबुझ्दो प्रमाण पेस गर्न सकेनन् । त्यसपछि व्यक्तिको नामबाट बदर गरेर जग्गा सरकारको नाममा ल्याइयो,’ उनी भन्छन् ।

पौडेलका अनुसार उक्त जग्गाको स्रेस्तामा २०४६ सालमा विराटनगरबाटै दाखिला खारेज भई आएको देखिन्छ । ‘नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रको सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्वअनुसार खोजी गर्दा यो तथ्य फेला पारेको हो । हामीलाई पत्र आएपछि सम्बन्धित व्यक्तिलाई प्रमाण पेस गर्न पत्र काटेका थियौं,’ पौडेलले भने ।

अब सरकारी जग्गा कसरी व्यक्तिको नाममा पुग्यो भन्ने विषयमा छानबिन एवं अनुसन्धान अघि बढ्ने उनले बताए । ‘आवश्यक प्रमाण पेस गर्न नसकेका कारण सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा लगिएको हो भन्ने निष्कर्षमा हामी पुगेका छौं,’ मालपोत प्रमुख पौडेल भन्छन्, ‘अब अरु कुरा कानुनबमोजिम हुन्छ ।’

यस विषयमा बुझ्न खोज्दा लीला भने सम्पर्कमा आउन चाहेनन् । बारम्बार गरेको फोन उनले उठाएनन् ।

यसअघि मालपोत कार्यालय रंगेलीले कर्मचारी र भूमाफियाको संगठित सञ्जालले सरकारी अभिलेख (ढड्डा) को पाना च्यातेर व्यक्तिको नाममा दर्ता गरेको १७ कट्ठाभन्दा बढी ऐलानी जग्गाको नक्कली स्रेस्ता खारेज गरेको छ । उक्त प्रकरणमा संलग्न भनिएका मालपोतका ३ कर्मचारी र जग्गा हडप्न खोज्ने १ भूमाफिया गरी चारै जनालाई पक्राउ गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको छ ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले ४ जनाकै खोजी गरिरहेको छ । घटनाका मुख्य योजनाकार भनिएका मालपोतका सुरक्षा गार्ड कामदेव मण्डल, नायब सुब्बा रेवती अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र जग्गा आफ्नो नाममा ल्याउने सुनवर्षी नगरपालिका–९ का भीमप्रसाद सिंहविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.