पुरानै लयमा मोरङ प्रशासन : आगजनीले ध्वस्त कार्यालय मर्मतपछि सबै सेवा सञ्चालनमा

Share this
690shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ असोज २८, मंगलबार १८:०८

विराटनगर । जेनजी आन्दोलनका नाममा अराजक समूहले आगजनी र तोडफोड गरेर ध्वस्त बनाएको जिल्ला प्रशासन कार्यालय मोरङलाई मर्मत सम्भार गरेर सबै सेवा सञ्चालनमा ल्याइएको छ ।

आगजनीपछि पूर्ण रूपले ध्वस्त भएको कार्यालय पुरानै लयमा फर्किएको हो । मंगलबारदेखि कार्यालयले सबै प्रकारका सेवा सुचारु गरेको छ । यसअघि आंशिक सेवा मात्रै सञ्चालनमा थिए । मंगलबारबाट राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा पनि सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनका अनुसार आगजनी र तोडफोड गरेर कार्यालय ध्वस्त पारिएपछि सेवा अवरुद्ध भएको थियो । ‘घटनाको केही समयपछि आंशिक सेवा सञ्चालनमा ल्याइयो । अबदेखि राहदानी र राष्ट्रिय परिचयपत्रसहितका पूर्ण सेवा सञ्चालनमा आएको छ,’ यादवले भने ।

आगजनीबाट कार्यालयको मुख्य भवन पूर्ण रूपमा जलेसँगै प्रशासनको अधिकांश फाँटले काम गर्न सक्ने अवस्था गुमाएका थिए । आगोले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, मुद्दा फाँट र अभिलेख शाखाका कागजातहरू जलेर खरानी बनेका थिए । कार्यालयको मर्मत र अस्थायी संरचना निर्माणपछि सबै सेवा सञ्चालनमा आएका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जारी गरेको सूचनाअनुसार राष्ट्रिय परिचयपत्रको विवरण संकलन प्रत्येक दिन बिहान ७ बजेबाट साँझ ७ बजेसम्म सञ्चालन हुने छ । ‘कार्यालयमा सीमित उपकरण मात्र उपलब्ध भएकाले सेवाग्राहीको भिड अत्यधिक हुन सक्छ । त्यसैले सेवा लिन आउने सबैले धैर्यपूर्वक आफ्नो पालो पर्खनुहोस्,’ सूचनामा भनिएको छ ।

राष्ट्रिय परिचयपत्र कार्ड वितरण कार्य भने तत्कालका लागि रोकिएको छ । आगजनीका कारण क्षति हुनबाट जोगिएका कार्ड सर्टिङ (क्रम मिलाउने) गर्ने कार्य भइरहेको सहायक प्रजिअ कोइरालाले बताए । राष्ट्रिय परिचयपत्र वितरणको सूचना पछि सार्वजनिक गरिने उनको भनाइ छ ।

सहायक प्रजिअ कोइरालाका अनुसार आगजनीमा राहदानीका उपकरणसहित अन्य सामग्री जलेर नष्ट भएका थिए । अहिले राहदानी विभागबाट एउटा मात्र नयाँ उपकरण प्राप्त भएको र त्यसैबाट सेवा सुरु गरिएको उनले बताए ।

राहदानी सेवामा अत्यधिक चाप हुने भएकाले कार्यालयले आवेदन फारम व्यवस्थापन र दैनिक सेवाग्राहीको संख्या सीमित गर्ने निर्णयसमेत गरेको छ । सूचनाअनुसार मंगलबारदेखि कात्तिक २ गतेसम्मका लागि राहदानीका ५ सयवटा अनलाइन आवेदन फारम खुलाइनेछ । त्यसपछि आइतबारदेखि बिहीबारसम्म अधिकतम १ सय जना र शुक्रबार अधिकतम ७५ जनालाई मात्रै सेवा प्रदान गरिने प्रशासनले जनाएको छ ।

आवेदन दिन चाहने सेवाग्राहीले अनलाइन फारम आफैं भरेर ल्याउनुपर्ने नियम छ । पहिले दर्ता भएर जलेको राहदानीको हकमा पनि पुनः आवेदन दिनुपर्ने बताइएको छ । त्यसका लागि पहिले तिरेको राजश्व मान्य हुनेछ । तयार भइसकेका राहदानी भने क्रमशः छपाइ भएर आएपछि वितरण गरिने कार्यालयले जनाएको छ ।

आगजनीपश्चात कार्यालयको मुख्य भवन मर्मत गरी केही फाँट सञ्चालनमा ल्याइए पनि अझै धेरै कोठा प्रयोगयोग्य अवस्थामा छैनन् । त्यसबाहेक, राष्ट्रिय परिचयपत्र सेवाका लागि छुट्टै अस्थायी भवन निर्माण गरिएको छ ।

कार्यालय सञ्चालनका लागि विभिन्न संघसंस्था र दाताहरुले उपकरण र सामाग्री सहयोग गरेका थिए । स्थानीय उद्योगी, संघसंस्था, बैंक तथा सामाजिक संस्थाहरूले कम्प्युटर, प्रिन्टर, टेबल, कुर्सी, पंखा र आवश्यक सामग्री उपलब्ध गराएको प्रजिअ यादवले बताए ।

आगजनी र लुटपाटबाट संरचनात्मक र अभिलेखीय गरेर झण्डै ४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । विक्रम संवत २०४८ सालयताको नागरिकताको अभिलेख जलेर नष्ट भएसँगै सेवा प्रवाह थप जटिल बनेको छ । २०७२ सालदेखिको भने नागरिकता अभिलेख अनलाइन प्रणालीमा राखिएकाले त्यसपछिका विवरण सुरक्षित छन् ।

२०४८ सालअघिका केही अभिलेख छुट्टै कोठामा रहेका कारण जोगिएका छन् । तर, आगोले करिब डेढ लाख राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको र ३० हजार कार्ड मात्र जोगिएको कार्यालयले जनाएको छ । छापिएर आएका करिब ४ सय थान राहदानी जलेका छन् भने कार्यालयमा विचाराधीन रहेका करिब ४ सय मुद्दाका मिसिल पूर्ण रूपमा नष्ट भएको प्रशासनले जनाएको छ ।

आगजनीपछि कर्मचारीले अस्थायी टेन्ट र सानो कोठाबाट सेवा सञ्चालन गर्दै आएका थिए । अहिले मर्मत गरिएको भवन आंशिक रूपमा प्रयोग गर्न मिल्ने भएपछि सेवा क्रमशः सामान्य हुँदै गएको छ । प्रजिअ यादवले भने, ‘हामीले अत्यन्त कठिन परिस्थितिबाट प्रशासनको सेवा पुनः सुरु गरेका छौं । नागरिकले सहज सेवा पाउने वातावरण बनाउँदैछौं ।’

आगजनीको आलो घाउ बोकेर प्रशासन पुनर्निर्माण र अभिलेख एकत्रित गर्ने काममा जुटेको छ । खरानीबाट उठेर सबै सेवा सञ्चालनमा ल्याउन प्रशासनलाई १ महिनाभन्दा बढी समय लागेको प्रजिअ यादवको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.