विपिन जोशीको शव पहिचान, नेपाल ल्याउने प्रक्रिया सुरु

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १२:४०

काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमासको कब्जामा परेर गाजामा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव पहिचान भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै शवको पहिचान भएको पुष्टि गरेको हो।

हमासले जोशीसहित चार जनाको शव सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायली पक्षलाई हस्तान्तरण गरेको थियो। त्यसपछि तेलअभिभस्थित नेशनल सेन्टर अफ फरेन्सिक मेडिसिनमा नेपाली दूतावासका प्रतिनिधिले भ्रमण गरी शव जोशीकै भएको थप पुष्टि गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाली दूतावासले सम्बन्धित निकायसँग सम्पर्क गरी शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले शव नेपाल ल्याएपछि मृत्युको वास्तविक कारण र सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन तथा परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा र सुविधालगायतका विषयमा उचित पहल जारी राखिने प्रतिबद्धता व्यक्त गरेको छ।

सन् २०२३ अक्टोबर ७ का दिन इजरायलमाथि हमासले आक्रमण गर्ने क्रममा जोशीलाई किबुत्ज अलुमिमबाट बन्धक बनाएर गाजा पट्टी लगेको थियो। उनी कृषि तालिम कार्यक्रमअन्तर्गत इजरायल पुगेका १७ जना नेपाली विद्यार्थीमध्ये एक थिए। बन्धक बनाइएको करिब ७३८ दिनपछि हमासले चार जनाको मृत्यु भएको पुष्टि गर्दै शव अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा इजरायललाई हस्तान्तरण गरेको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.