आगजनीले अदालतमा ९ लाख ३३ हजार मिसिल नष्ट

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३०, बिहीबार १०:३६

काठमाडौँ । भदौ २४ गते प्रदर्शनकारीहरूले देशभरका विभिन्न अदालतमा गरेको आगजनी र तोडफोडका कारण करिब ९ लाख ३३ हजार मुद्दाका मिसिल नष्ट भएका छन्। सर्वोच्च अदालतको प्रारम्भिक विवरणअनुसार चालुतर्फ ३० हजार ७ सय ५२ र अभिलेखतर्फ ९ लाख ३ हजार ७१ मिसिल गुमेका छन्।

आगजनीले गर्दा नेपालका धेरै चर्चित तथा गम्भीर मुद्दाका फाइलहरू नष्ट भएका छन्। काठमाडौं जिल्ला अदालत मा रहेका नक्कली भुटानी शरणार्थी प्रकरण, सिभिल सहकारी ठगी, ललिता निवासमा लिखत किर्ते, बाल मन्दिर जग्गा प्रकरण, ६१ किलो सुन तस्करी लगायतका मुद्दाका मिसिलहरू पूर्ण रूपमा जलेका छन्।

सर्वोच्च अदालत मा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सशस्त्र द्वन्द्वको हत्यासम्बन्धी, ५२ संवैधानिक पदाधिकारीको फैसलाको पूर्णपाठ, सुडान काण्ड, वाइडबडी विमान खरिद, मैना सुनुवार हत्या, अन्तःशुल्क र एनसेलको कर जस्ता महत्त्वपूर्ण मुद्दाका फाइलहरू पनि नष्ट भएका छन्।

कास्की जिल्ला अदालत मा रास्वपा सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी फाइलसहित चालु अवस्थाका २ हजार र अभिलेखतर्फका ३० हजार फाइल जलेका छन्।चितवन जिल्ला अदालत मा रास्वपा सभापति लामिछाने प्रतिवादी रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीसम्बन्धी मिसिलसहित झन्डै १४ सय चालु मिसिल जलेका छन्।

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार अभिलेखमा रहेका मुद्दाहरू अदालतमा मात्र हुने भएकाले पुनः मिसिल खडा गर्न असम्भव हुनेछ। काठमाडौं जिल्ला अदालत मा मात्रै अभिलेखका ४ लाख र चालुका ४ हजार मुद्दाका फाइल जलेका छन्। स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार २०५३ साल यताका लगभग सबै मिसिल जलेका छन्।

जिल्ला अदालतका फैसला कार्यान्वयन अधिकारी धनबहादुर कार्कीका अनुसार सक्कल फाइल र मिसिल नै नष्ट भएकाले तत्काल ३ हजार जति फैसला कार्यान्वयन गर्न समस्या आउने देखिन्छ।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले २४ गतेको प्रदर्शनमा न्यायालयले भौतिक सम्पत्ति मात्र नभई “२०१८ सालदेखिको न्यायको विरासत” पनि गुमाएको बताएका छन्।

प्रदर्शनकारीले काठमाडौंका साथै चितवन, कास्की, सप्तरी, बाँके, रूपन्देही, पर्सा, मकवानपुर र कपिलवस्तु जिल्ला अदालत तथा उच्च अदालत तुलसीपुर बुटवल इजलास, विराटनगर, जनकपुरको अस्थायी इजलास, राजविराज र हेटौंडालगायत १० जिल्ला अदालत र ७ उच्च अदालतलाई निसाना बनाएका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.