
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–२, आरती स्ट्रिप्स नजिक आज (बिहीबार) बिहान भएको दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ। मोटरसाइकल चालक समेत घाइते भएका छन्।
बिहान करिब ९:३५ बजे विराटनगरबाट टंकीसिनवारीतर्फ जाँदै गरेको बा ४१ प ३२६४ नम्बरको मोटरसाइकलले सडकमा हिँडिरहेका एक पैदलयात्रीलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ६०–६५ वर्षका पुरुष (तत्काल नामथर वतन नखुलेको, मागी खाई हिँड्ने तराईबासी जस्तो देखिने) लाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल, विराटनगर पठाइएको थियो।
अस्पताल पुगेको केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। शव सोही अस्पतालमा राखिएको छ।
यसैगरी, दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–३ बस्ने अन्दाजी ४० वर्षीय मनिस देव घाइते भएका छन्। उनको निधार र टाउकोमा चोट लागेको र हाल सोही अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा लिइएको छ। प्रहरीले मृतकको सनाखत गर्ने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।























