
विराटनगर । झापाको कृष्ण खोलामा डुबेर बिहीबार दिउँसो एकै परिवारका २ सहित ३ जना बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर प्रवीण श्रेष्ठका अनुसार गौरादह नगरपालिका–९ स्थित कृष्ण खोलामा माछा मार्ने क्रममा डुबेर बालिकाहरुको मृत्यु भएको हो । खोलामा डुबेर अञ्जु मगरका ७ वर्षीया छोरी सुष्मा र ९ वर्षीया स्वीकृति मगर तथा निर्मला परियारकी ११ वर्षीया छोरी रोश्री परियारको मृत्यु भएको जानकारी श्रेष्ठले दिए ।
उनका अनुसार तीनै जना बालिकाहरु माछा मार्न भनेर खोलामा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । माछा मार्ने क्रममा खोलामा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनसाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनाको थप अनुसन्धान भइरहेको र बालिकाहरुको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याइएको जानकारी श्रेष्ठले दिए ।

























