
काठमाडौं । नेपाली सेनाले गत भदौ २४ गते भएको जेनजी आन्दोलनको भोलिपल्टै सर्वोच्च अदालत परिसरमा लागेको आगो नियन्त्रणमा आइसकेको दाबी गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रमबारे जानकारी दिँदै सेनाका उपरथी अनुपजंग थापाले भने, ‘सर्वोच्च अदालतको आगो भोलिपल्ट निभिसकेको छ, म यहाँहरूलाई एकदम प्रष्ट साथ भन्न चाहन्छु।’
‘उपरथी थापाले मध्यराति ललितपुरको एउटा काठ उद्योगमा आगो निभाइरहेको थाहा पाएपछि त्यहाँका गणपतिलाई तुरुन्त सिंहदरबार र सर्वोच्च अदालत जस्ता महत्त्वपूर्ण भवनहरूमा लागेको आगो निभाउन दमकल पठाउन निर्देशन दिएको बताए। ललितपुरबाट पनि सहयोग: उनले ललितपुरको दमकल पनि मध्यरातमा बोलाएर आगो निभाउने काम भएको स्पष्ट पारे।
उपलब्ध दमकल प्रयोग: काठमाडौंमा उपलब्ध १८ वटा दमकलमध्ये ११ देखि १२ वटा दमकल प्रयोगमा ल्याइएको उनले जानकारी दिए। ‘अरू दमकलहरू विभिन्न कारणले चल्न सकेन,’ उनले भने। सेनाले एयरपोर्ट लगायतका स्थानमा पनि अनुरोध गरेर आगो निभाउने काम गरेको बताएको छ।
थापाले जुन किसिमको आगलागी भएको थियो, उपलब्ध दमकलका आधारमा ‘ज्यादै नै छिटो समयमा एकदम द्रुत गतिमा आगो निभाइएको’ दाबी गरे। सेनाका अधिकारीले अग्लो भवनमा लागेको आगो निभाउन दमकलमा अग्लो भर्याङ नभएका कारण हिल्टन होटलमा लागेको आगो चौथो दिनसम्म पनि रहिरहेको बताए।
यो स्पष्टीकरण गत भदौमा भएको जेन-जी आन्दोलनपछि विभिन्न सरकारी र महत्त्वपूर्ण भवनहरूमा भएको आगजनी तथा क्षति नियन्त्रणको प्रयासबारे उठेका प्रश्नहरूको जवाफमा आएको हो।

























