
रंगेली । तिहार र छठ पर्व नजिकिँदै जाँदा तराईका कुमाले बस्तीहरू माटोको सुगन्धले महक–महक बन्न थालेका छन् ।
दियो, घैला, कलश, पाला, ढकना, दलिया र मटकुरीजस्ता माटोका भाँडाहरू बनाउन व्यस्त कुमालेहरूका हात अहिले लगातार चलिरहेका छन् । उनीहरूका घर, आँगन र गोठहरू भाँडाको पंक्तिले भरिएका छन् । आगनभरि सुक्दै गरेका दियो र घैलाले गाउँको रूप नै फेरिएको छ । सामग्री बनाउन चिम्टाइलो माटो प्रयोग गरिन्छ ।

मोरङको रंगेली नगरपालिका–५ आमगाछीको सोमबारे टोल र सुनवर्षी नगरपालिका–७ कदमगाछीका कुमाले समुदाय अहिले हिन्दु धर्मावलम्बीहरूको महान पर्व तिहार र तराई–मधेशको विशेष पर्व छैठको तयारीमा तल्लीन छन् । तिहारमा धनकी देवी लक्ष्मीको आराधना विशेष रूपमा गरिने भएकाले त्यो दिन माटोको शुद्ध दियोमा बत्ती बाल्ने परम्परा कायम छ ।

यही कारण तिहार नजिकिँदै गर्दा कुमालेहरूका घरमा माटो, पानी र आगोको संगतले पुरानो कलालाई जीवन्त बनाएको छ । स्थानीय कुमाले व्यवसायी रमानन्द पण्डित भन्छन्, ‘हामी वर्षभरि यसै सिजनको पर्खाइमा बस्छौं । तिहार र छैठ आउँदा हाम्रो गाउँमा रातभर दियो पकाउने धुवाँ उड्छ । त्यो धुवाँ नै हाम्रो अस्तित्वको चिन्ह हो ।’

उनका अनुसार माटोको भाँडा बनाउन निकै मिहिनेत पर्छ । ‘पहिले राम्रो माटो खोजेर ल्याउनुपर्छ । त्यसलाई राम्रोसँग घोटेर आकार दिन्छौं । त्यसपछि दिनभरि घाममा सुकाउँछौं र २४ देखि ७२ घण्टासम्म आगोमा पकाउँछौं । यो सजिलो काम होइन । तर, यही कामले हाम्रो पहिचान जोगाएको छ,’ उनी भन्छन् । बजारहरुआजभोलि झिलिमिली बत्ती, प्लास्टिकका सजावटी सामग्री र विद्युतीय दियोहरूको भरमार भए पनि कुमालेहरू माटोको उज्यालो निभ्न दिन चाहँदैनन् ।

‘पहिले हामीले बनाएको दियो र घैलाले घर–घर सजिन्थ्यो । अहिले झिलिमिली बत्तीले ठाउँ लिन थालेको छ । तर, माटोको दियोको सुगन्ध र उज्यालो कसैले साट्न सक्दैन,’ पण्डितको भनाइ छ । कुमालेहरूले बनाएका माटोका वस्तुहरू रंगेली, कर्सिया, दोहमाना र डाइनिया बजारमा बिक्रीका लागि लैजान्छन् ।
त्यही बिक्रीबाटै उनीहरूको चाडपर्वको खर्च चल्ने गर्छ । यद्यपि, पछिल्लो समय बजार घटे पनि उनीहरू आफ्नो पुर्ख्यौली पेसा छोड्न तयार छैनन् । ‘हामीलाई थाहा छ, यो पेसाले धनी बनाउँदैन । तर, यही हाम्रो परम्परा हो,’ स्थानीय शोभादेवी पण्डित भन्छिन् ।

रंगेली नगरपालिकाले ३ वर्षअघि आमगाछीका कुमाले समुदायका लागि मोटरजडित माटोका भाँडा बनाउने मेसिन हस्तान्तरण गरेपछि केही सहजता आएको छ । स्थानीय लुख्निदेवी पण्डित भन्छिन्, ‘पहिले हातले घोट्दा धेरै समय लाग्थ्यो । अहिले मेसिनले काम सजिलो बनाइदिएको छ । नगरपालिकाले माटो खरिद गरेर पनि सहयोग गरेको छ । त्यसले हामीलाई केही राहत दिएको छ ।’
तर, नजिकैको सुनवर्षी नगरपालिकामा रहेका कदमगाछीका कुमालेहरू भने त्यस किसिमको सहयोगबाट वञ्चित छन् । ‘चुनाव आउँदा धेरै वाचा गर्छन् । तर, पछि कोही फर्केर हेर्दैनन् । हामीले आफ्नै भरमा यो पेसा जोगाइराखेका छौं,’ स्थानीय सुरेन्द्र पण्डितको गुनासो छ ।

हिजोका दिनमा माटोका भाँडाले कुमालेहरूलाई राम्रो आम्दानी दिन्थ्यो । तिहार, छैठ र अन्य पर्वमा उनीहरूका बनाएका वस्तुहरूको ठूलो माग हुन्थ्यो । तर, अहिले समय बदलिएको छ । बजारमा विदेशी सामान र सस्तो विकल्पहरूको बाढीले परम्परागत माटोका भाँडालाई किनारा लगाउन थालेको छ ।
यद्यपि, तिहार नजिकिँदा माटो, आगो र पसिनाको मेलले कुमाले बस्तीमा एक प्रकारको उमंग ल्याउँछ । बालबालिकादेखि बुढापाका सबैको हात माटोमा मुछिएको देखिन्छ । घाममा सुक्दै गरेका दियोहरूको पंक्तिले आधुनिकताले धेरै कुरा बिर्साउँछ । अझै पनि कुमाले गाउँमा उज्यालो माटोमै जन्मिन्छ ।

रमानन्द पण्डित भन्छन्, ‘हामी माटोका मान्छे हौं । माटो नै हाम्रो धर्म हो । झिलिमिली बत्ती आउँछ, जान्छ । तर, हाम्रो दियोको उज्यालो कहिल्यै निभ्दैन ।’ यसरी तिहारको चमकसँगै तराईका कुमाले बस्तीहरूमा फेरि माटोको सुगन्ध छाएको छ । पण्डित भन्छन्, ‘हातले बनाइएको एउटा सानो दियोले घर उज्यालो पार्छ र हाम्रो संस्कृतिलाई पनि जीवित राख्छ ।’




























