
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–७, सुनमाईमा एक नवजात शिशु (छोरी) बेवारिसे अवस्थामा फेला परेकी छन् ।
शनिबार राति करिब ९ बजेको समयमा स्थानीय सीमा आचार्यको घरको बरन्डामा करिब ४–५ दिनको जस्तो देखिने शिशुलाई अज्ञात व्यक्तिले राखेको अवस्थामा भेटिएको हो ।
उक्त घरमा भाडामा बस्ने ताप्लेजुङका ओमप्रकाश तुमीहाङ लिम्बुले शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेका थिए।
तत्कालै इप्रका बुधबारेबाट खटिएको टोलीले शिशुको उद्धार गरेको थियो । स्थानीय, भद्रभलादमी तथा जनप्रतिनिधिहरूको समन्वयमा शिशुलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
प्रहरीका अनुसार हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शिशुलाई घरको बरन्डामा राखेर छाड्ने व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























