
कुकुरलाई मानिसको सर्वोत्कृष्ट वफादार साथी मानिन्छ। उनीहरू हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा हुन्, त्यसैले तिनीहरूको बारेमा सकेसम्म धेरै कुरा जान्नु स्वाभाविक नै हो। हामीले यहाँ कुकुरहरूको बारेमा केही रमाइला र अचम्म लाग्ने तथ्यहरूको सूची तयार गरेका छौँ, जसले तपाईंलाई चकित पार्न सक्छ। कुकुरको ओसिलो नाकको रहस्यदेखि लिएर उनीहरूको अद्वितीय शारीरिक विशेषतासम्मका यी अद्भुत जानकारीहरू-
कुकुरको नाकको ओसिलोपनाको वैज्ञानिक कारण
के तपाईंले कहिल्यै सोच्नुभएको छ कि कुकुरको नाक किन सधैँ चिसो र ओसिलो हुन्छ? यसको कारण हो- सुगन्ध सोस्ने क्षमता। कुकुरको नाकले एक विशेष प्रकारको सिगान स्राव गर्छ, जसले वातावरणमा रहेका गन्धका रसायनहरूलाई सजिलै सोस्न मद्दत गर्छ। त्यसपछि कुकुरले आफ्नो नाक चाटेर ती रसायनहरूलाई जाँच्छन्, जसले गर्दा उनीहरूलाई गन्धको गहिराइ बुझ्न मद्दत पुग्छ।
कुकुरहरूले रङ्ग देख्न सक्छन् (तर सीमित रूपमा)
धेरै मानिसमा कुकुरहरूले कालो र सेतो मात्र देख्छन् भन्ने भ्रम छ, तर यो पूर्ण रूपमा सत्य होइन। कुकुरहरूले नीलो र पहेँलो रङ देख्न सक्छन्। उनीहरूको आँखाको रेटिनामा नीलो र पहेँलो रङ्ग छुट्याउने कोन कोशिकाहरू मात्र हुन्छन्। यद्यपि, उनीहरूको रेटिनामा ‘रड कोशिकाहरू’ धेरै हुने भएकाले उनीहरू अँध्यारोमा हेर्न हामी मानिसभन्दा धेरै सिपालु हुन्छन्।
मानिसजस्तै कुकुर पनि दायाँ वा बायाँ ‘पन्जा चलाउने’ हुन्छन्
यो तथ्यले तपाईंलाई पक्कै अचम्मित पार्छ! हालैको एक अध्ययनले देखाएको छ कि मानिसहरूमा दायाँ-हाते वा देब्रे-हाते हुने जस्तै, कुकुरहरू पनि दाहिने-पन्जा वा देब्रे-पन्जा चलाउने हुन सक्छन्।
एक अध्ययनमा १७,९०१ कुकुरहरूलाई एउटा ट्युबभित्र राखिएको खानेकुरा निकाल्ने कार्य दिइएको थियो। अध्ययनले पत्ता लगायो-
५८.३ प्रतिशत कुकुरहरू दाहिने-पन्जा चलाउने थिए।
४१.७ प्रतिशत देब्रे-पन्जा चलाउने थिए।
करिब २६ प्रतिशतले भने दुवै पन्जा समान रूपमा प्रयोग गरेका थिए।
पसिना निकाल्ने कुकुरको अनौठो तरिका
कुकुरहरू मुख खोलेर छिटोछिटो सास फेरेर आफ्नो शरीरको तापक्रम नियन्त्रण गर्छन्। तर, उनीहरूलाई पसिना पनि आउँछ, तर मानिसको जस्तो शरीरभरि होइन। कुकुरहरूले आफ्नो पन्जाको तलबाट पसिना निकाल्छन्। पन्जाको तल हुने ‘मेरोक्राइन ग्रन्थिहरू’ ले शरीरलाई शीतल राख्न पसिना सक्रिय गर्छन्। उता ‘एपोक्राइन ग्रन्थिहरू’ ले फेरोमोनहरू छोड्छन्, जसले प्रत्येक कुकुरलाई एक अद्वितीय गन्ध दिन्छ र अन्य कुकुरहरूलाई पहिचान गर्न मद्दत गर्छ।
लामो दौडमा चितुवालाई पनि हराउन सक्छ ‘ग्रेहाउन्ड’ ले
ग्रेहाउन्ड नस्लका कुकुरहरू बिजुलीको गतिमा दौडन्छन्, तर के तपाईंलाई थाहा छ कि लामो-दूरीको दौडमा यिनीहरूले चितुवालाई पनि पछि पार्न सक्छन्? चितुवा अविश्वसनीय रूपमा छिटो भए पनि, उनीहरूले आफ्नो गति २०० देखि ३०० गजसम्म मात्र कायम राख्न सक्छन्। तर, ग्रेहाउन्डहरू ७ माइलसम्म प्रतिघण्टा ५६ किमि (३५ माइल प्रतिघण्टा) को गति कायम राख्न सक्ने उत्कृष्ट लामो-दूरीका धावक हुन्। त्यसैले, लामो दौडमा चितुवालाई ग्रेहाउन्डले चाँडै पछि पार्छन्।
कुकुरको गन्ध पत्ता लगाउने शक्ति अकल्पनीय
सामान्य कुकुरले पनि मानिसले पत्ता लगाउनै नसक्ने गन्धहरू पत्ता लगाउन सक्छ। यसको कारण हो- उनीहरूको नाकको संरचना। कुकुरको नाकमा लगभग ३० करोड ‘ओल्फ्याक्टोरी रिसेप्टरहरू’ हुन्छन्, जबकि मानिसमा करिब ६० लाख मात्र हुन्छन्। यसबाहेक, उनीहरूको मस्तिष्कमा सुगन्ध पत्ता लगाउनको लागि छुट्टै सहायक ओल्फ्याक्टोरी प्रणाली पनि हुन्छ, जसले फेरोमोनहरू पत्ता लगाउँछ।
केही कुकुरहरूले स्वास्थ्य समस्यासमेत पत्ता लगाउँछन्
‘मेडिकल डिटेक्सन’ कुकुरहरूलाई विभिन्न स्वास्थ्य अवस्थाहरू सुँघेरै पत्ता लगाउन विशेष तालिम दिइएको हुन्छ। क्यान्सर, मधुमेह जस्ता रोग पत्ता लगाउनेदेखि लिएर दौरा जस्ता आसन्न स्वास्थ्य समस्याबारे मालिकलाई सचेत गराउनेसम्मका महत्त्वपूर्ण काम यी कुकुरहरूले गर्छन्।
हाई कुकुरलाई पनि सर्छ
अर्को पटक तपाईंले हाई गर्दा, तपाईंको कुकुरले पनि हाई गर्छ कि गर्दैन भनेर अवलोकन गर्नुहोस्। अनुसन्धानले देखाएको छ कि सरुवा हुने हाई ले मानिसहरूलाई मात्र होइन, कुकुरहरूलाई पनि असर गर्छ। मानिसमा यसलाई सहानुभूति र सामाजिक सञ्चारसँग जोडिएको मानिन्छ। यद्यपि, कुकुरमा हाई थकानको लक्षण हुनुका साथै तनावको सङ्केत पनि हुन सक्छ भन्ने कुरामा ध्यान दिनुपर्छ।
अधिकांश कुकुरहरूले १०० भन्दा बढी शब्दहरू बुझ्छन्
तपाईंको कुकुरले ‘बस्’, ‘अडी’ जस्ता आदेशभन्दा धेरै शब्दहरू बुझ्न सक्छन्। अनुसन्धानअनुसार, अधिकांश कुकुरहरूले औसतमा १०० शब्दहरूमा प्रतिक्रिया दिन्छन्- जुन लगभग दुई वर्षको बच्चाले बुझे जत्तिकै हो। सबैभन्दा चलाख कुकुरहरूले केवल पाँच पटक दोहोऱ्याएपछि नयाँ आदेश बुझ्न सक्छन् र दिइएको आदेशलाई ९५% समयमा पालना गर्छन्।
कुकुरहरूले विभिन्न भावना महसुस गर्छन्
उत्साह, चिन्ता, उदासीजस्ता आधारभूत भावनाहरू हाम्रा कुकुरहरूले अनुभव गर्न सक्छन्, जसको पुष्टि प्रायः उनीहरूका मालिकहरूले गर्छन्। यद्यपि, कुकुरले ईर्ष्या अनुभव गर्न सक्छन् भन्ने कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। तर, ‘लज्जा’ जस्ता जटिल भावनाहरू अनुभव गर्छन् कि गर्दैनन् भन्नेमा बहस जारी छ। गल्ती गर्दा कुकुरले देखाउने ‘दोषी’ हेराइ, पश्चात्तापभन्दा बढी मालिक रिसाएको छैन भनी पहिचान गरेर शान्त पार्ने प्रयास हुन सक्छ।
प्रत्येक कुकुरको नाकको छाप फरक हुन्छ
जसरी हरेक मानिसको औँलाको छाप फरक-फरक हुन्छ, त्यसरी नै प्रत्येक कुकुरको नाकको छाप पनि अद्वितीय हुन्छ।
दिसा गरेपछि कुकुरहरू किन पछाडि लात्ती हान्छन्?
दिसा गरेपछि कुकुरले पछाडि लात्ती हान्ने व्यवहार देख्दा धेरैलाई लाग्न सक्छ, उनीहरूले आफ्नो दिसालाई छोप्न खोजिरहेका छन्। तर, यो सत्य होइन; कुकुरहरू आफ्नो इलाका चिन्ह लगाउन यसो गर्छन्। पन्जाको तल रहेका एपोक्राइन ग्रन्थिहरूले फेरोमोनहरू छोड्छन्, र लात्ती हानेर जमिन खस्रँदा उनीहरूले आफ्नो गन्धलाई लामो समयसम्म टिक्ने गरी छोड्छन्।
कुकुरहरूको तीनवटा परेला हुन्छन्
धेरै कुकुर मालिकहरूलाई यो तथ्य थाहा नहुन सक्छ: तपाईंको चार खुट्टे साथीको तीनवटा परेला हुन्छन्! माथिल्लो र तल्लो परेलाहरूबाहेक, उनीहरूमा ‘निक्टिटेटिङ झिल्ली’ भनेर चिनिने तेस्रो परेला पनि हुन्छ। यो झिल्लीले आँखाको बाहिरी भागलाई सफा गर्ने, आँसु उत्पादन गर्ने र सम्भावित सङ्क्रमणसँग लड्न ‘लिम्फ नोड’ को रूपमा काम गर्नेसहितका महत्त्वपूर्ण कार्यहरू गर्छ।























