
काठमाडौं । ‘जेनजी आन्दोलन’ को समयमा सिंहदरबार, राष्ट्रपति कार्यालय र अदालतजस्ता संवेदनशील सार्वजनिक भवनहरू जोगाउन नसकेको भन्दै आलोचना बढेपछि नेपाली सेनाले छानबिन सुरु गरेको छ।
यसै क्रममा सैनिक मुख्यालयले तीन जना कमाण्डरलाई नियन्त्रणमा लिएको छ। सार्वजनिक भवनहरू सुरक्षा दिन नसकेको विषयमा बुझ्नका लागि तीन जना कमाण्डरलाई सैनिक मुख्यालयमा झिकाइएको छ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले ‘संवेदनशील क्षेत्रमा खटाएका कमाण्डरहरूलाई नियन्त्रणमा लिएको’ र घटनाबारे थप अनुसन्धान भइरहेकाले विस्तृत जानकारी दिन नमिल्ने बताएका छन्। ‘जेनजी आन्दोलन’ का क्रममा महत्त्वपूर्ण सरकारी तथा न्यायिक भवनहरू सुरक्षित राख्न नसकेको भन्दै नेपाली सेनाको आलोचना भएको थियो।
अदालतका कर्मचारीहरूले न्यायालयका भवनमा १०-१५ जना प्रदर्शनकारीले आगजनी गर्दा ४-५ जना सैनिकको उपस्थिति मात्र भए पनि प्रदर्शनकारीहरू हच्किन सक्ने अवस्था रहेको बताएका थिए। प्रवक्ता बस्नेतका अनुसार, नियन्त्रणमा लिइएका कमाण्डरहरूबाहेक अन्य कमाण्डरहरूमाथि पनि छानबिन हुन सक्ने भन्दै अध्ययन भइरहेको छ।

























