
विराटनगर । सरकारले जेनजी आन्दोलनका घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ। घाइतेहरूको भइपरी खर्चवापत सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न यो रकम पठाइएको हो।
पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकिएको छ। सरकारले घाइतेहरूको निःशुल्क उपचार गरिरहेको छ, जसमा हालसम्म एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ।
घाइतेको पहिचान र सहज उपचारका लागि परिचयपत्र वितरण गरिएको छ। पुनः उपचारका लागि तोकिएका अस्पतालहरूमा जेन-जी क्लिनिक सञ्चालन गरिएको छ र घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था मिलाइएको छ।
स्वास्थ्य मन्त्रालयले हटलाइन र सहजीकरणका लागि सम्पर्क व्यक्ति समेत तोकेको छ। घाइतेको अवस्था वर्गीकरण गरी उचित राहतका लागि प्राविधिक समिति गठन गरिँदैछ, जसमा घाइतेका प्रतिनिधि पनि रहनेछन्।
जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ५३ जनाका परिवारलाई १५ लाख रुपैयाँका दरले (१० लाख आर्थिक सहायता र ५ लाख किरिया खर्च) पठाइएको छ। हालसम्म ४९ जनाका परिवारले उक्त रकम प्राप्त गरिसकेका छन्।
आन्दोलनका क्रममा जम्मा ७६ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा पहिचान खुलेका नागरिक ५३ जना र नेपाल प्रहरीका ३ जना छन्। कारागारबाट भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर १० जना कैदीको पनि मृत्यु भएको थियो। मृतकमध्ये १२ जनाको पहिचान खुल्न बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ।

























