
काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी ५ बुँदे माग राखेका छन् ।
बालुवाटार पुगेर आन्दोलनका प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई आन्दोलनका बेला गोली प्रहार गर्नेहरूमाथि कारबाही, संविधान सुधार, आन्दोलनका घाइते र परिवारको संरक्षण, भ्रष्टाचार छानबिनमा पारदर्शितालगायतको माग राखेका हुन् । आन्दोलनका घाइते रुपिन खड्काले प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूलाई भने, ‘हामीले ५ बुँदे माग सम्बोधन गर्न आग्रह गरेका छौं । सरकार निष्क्रिय भएर बस्न मिल्दैन । माग पूरा नभए हामीले थप आन्दोलनका कार्यक्रम घोषणा गर्नेछौं ।’
उनका अनुसार सरकारले माग बेवास्ता गरे घाइतेहरूले सडकमा पुनः आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । प्रधानमन्त्री कार्कीले भने सरकार जेनजी आन्दोलनको मर्म र भावनाभन्दा बाहिर नजाने स्पष्ट गरेकी छन् ।
उनले सरकारलाई दिइएको म्यान्डेटभित्र रहेर काम गरिने भन्दै कानुनी प्रक्रिया र संवैधानिक दायराभन्दा बाहिर कुनै निर्णय नहुने बताइन् । ‘हामी मर्मभन्दा बाहिर जाँदैनौं, प्रक्रियासम्मत र कानुनी ढंगले काम गर्छौं,’ प्रधानमन्त्री कार्कीको भनाइ थियो ।
उनले आगामी निर्वाचन तोकिएको समयमा नै हुने दाबी गर्दै भ्रष्टाचारको छानबिनलाई सरकारले प्राथमिकताका रूपमा लिएको बताइन् । ‘चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ,’ उनले भनिन्, ‘राज्यका निकायहरूले तीव्र गतिका साथ छानबिन गरिरहेका छन् । आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक काम भइरहेको छ ।’
प्रधानमन्त्री कार्कीले आन्दोलनका प्रतिनिधिहरूलाई सरकारप्रति आलोचनात्मक रहन र दबाब कायम राख्न समेत आग्रह गरिन् । ‘तपाईंहरू बोल्न नछाड्नुहोस्, दबाब दिन पनि नछाड्नुहोस्,’ उनले भनिन्, ‘छानबिन अघि बढ्दैछ, नतिजा आउनेछ । बाहिर जे–जस्तो कुरा भइरहेका छन्, हामीले पनि सुनेका छौं ।’ जेनजी आन्दोलनका घाइतेहरूले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गर्दै आन्दोलनका क्रममा भएको अन्यायको क्षतिपूर्ति र दोषीहरूको कारबाही सुनिश्चित नगरे सरकारप्रति जनआन्दोलनको दबाब पुनः बढाउने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री कार्कीले भने शान्ति, न्याय र पारदर्शितामा आधारित राजनीतिक स्थायित्व आफ्नो सरकारको मूल प्राथमिकता भएको बताइन् । ‘जेनजी आन्दोलनले उठाएका विषयहरूको न्यायोचित समाधान खोज्ने दिशामा सरकार अघि बढ्छ,’ उनले भनिन् ।

























