
विराटनगर । यसवर्षको साइतको भाइटीका हर्षोल्लासका साथ सम्पन्न भएको छ । हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान पर्व तिहार भाइटीका लगाइएसँगै सकिन्छ ।
यस वर्ष भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे थियो । तर, दिनभर टीका लगाउन कुनै बाधा पर्ने थिएन । विभिन्न मुलुकमा अलगअलग समयमा भाइटीका लगाउने साइत जुराइएको थियो ।
यो समाचार तयार पार्दासम्म पनि भाइटीका लगाउने क्रम चलिरहेको छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार साइतको टीका लगाइदिएका छन् ।
तिहारमा पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर लगाइदिने चलन छ । तिहारको अन्तिम दिन अर्थात् भाइटीकालाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् ।
दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी ५ वटा उल्लेख गरिएको धर्मशास्त्रविद्हरु बताउँछन् । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

























