
काठमाडौं । जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका सहिदहरुको सम्झनामा बिहीबार काठमाडौंको माइतीघरमण्डलमा सामूहिक भाइटीका कार्यक्रम सम्पन्न गरिएको छ ।
जेनजी युनाइटेड परिवर्तन समूहले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी अभियन्ता तथा अगुवाहरूले सहिदहरुको तस्बिरमा भाइटीका लगाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । कार्यक्रमका सहभागीहरूले जेनजी आन्दोलनले देशमा उत्पन्न गरेको चेतना र परिवर्तनको भावनालाई स्मरण गर्दै सहिदहरुको बलिदान व्यर्थ जान नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनीहरूले भाइटीका समारोहमार्फत जेनजी अभियानका मूल्य र उद्देश्यलाई निरन्तरता दिने संकल्प पनि दोहोर्याए । कार्यक्रममा उपस्थित विभिन्न अभियन्ता, युवा र सामाजिक कार्यकर्ताहरूले जेनजी आन्दोलनका सहिदहरुले ल्याउन खोजेको सामाजिक न्याय, समानता र परिवर्तनको ध्येय अहिले पनि सान्दर्भिक रहेको भन्दै त्यसको संरक्षण र विस्तारका लागि एकताबद्ध रहन आह्वान गरे ।
माइतीघरमण्डलमा आयोजित यो स्मृतिसभामूलक भाइटीका कार्यक्रममा सहभागिता जनाउनेहरूले सहिदहरुलाई प्रतीकात्मक हिसाबले दाजुभाइका रूपमा सम्झिँदै तिलक, फूलमाला र अक्षता अर्पण गरेका थिए । कार्यक्रमको समापनमा सहभागीहरूले शान्तिपूर्ण र न्यायसंगत समाज निर्माणको प्रतिज्ञा गरेका छन् ।























