मोरङको सुनवर्षीबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद, मेडिकल हलका सञ्चालक फरार

Share this
807shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ७, शुक्रबार १९:००

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–२ बाट प्रहरीले शुक्रबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद गरेको छ । उक्त औषधिसहित १ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी अमरदहबाट खटिएको टोलीले शंकास्पद रूपमा आउँदै गरेको को २१ प २८३३ नम्बरको मोटरसाइकललाई चेकजाँचका लागि रोकेको थियो । त्यस क्रममा मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति फरार भएका थिए ।

मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–१ का ३५ वर्षीय निरज राजवंशीलाई नियन्त्रणमा लिई जाँच गर्दा मोटरसाइकलको पछाडि रहेको जेब्रा झोलाबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार चालक राजवंशीले मोटरसाइकलमा बोकेको जेब्रा झोलाभित्र १५ हजार ट्याब्लेट स्पासपेन नामक प्रतिबन्धित औषधि भेटिएको थियो ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले उक्त औषधि बरामद गरेर मोटरसाइकल चालक राजवंशीलाई पक्राउ गरेको छ । उनलाई थप अनुसन्धान एवं कारबाहीका लागि रंगेली प्रहरीको हिरासतमा राखिएको छ । राजवंशीमाथि कारबाही अघि बढाउने विषयमा औषधि व्यवस्था विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान तथा सोधपुछका क्रममा राजवंशीले उक्त औषधि सुनवर्षी नगरपालिका–६ स्थित न्यू रेखा मेडिकल हलबाट ल्याएको प्रहरीलाई बताएका छन् । मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति उक्त मेडिकल हलका सञ्चालक कार्तिक दास रहेको प्रहरीले पत्ता लगाएको छ ।

उक्त औषधिसहितको जेब्रा बोकेर दास मोटरसाइकलको पछाडि बसेका थिए । मोटरसाइकल रोक्नसाथ उनी फरार भएको र चालक मात्रै पक्राउ परेको प्रहरीले जनाएको छ । दासले मोरङको उर्लाबारीमा पुर्याउनका लागि भनेर आफ्नो मेडिकलबाट प्रतिबन्धित औषधि लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मोटरसाइकलबाट हामफालेर उनी भागे पनि प्रहरी भने उनको मेडिकल हलमा समेत पुगेको थियो । तर, मेडिकल नै बन्द गरेर उनी फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी तीव्र पारेको छ ।

यो घटनाले मेडिकल हल (औषधि पसल)बाटै प्रतिबन्धित औषधिको किनबेच हुने गरेको पत्ता लागेको प्रहरीले जनाएको छ । प्रतिबन्धित औषधिको अनधिकृत बिक्री र वितरण हुने गरेको थाहा भएसँगै प्रहरीले स्थानीय औषधि पसलहरुमा निगरानी बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.