विराटनगरमा कार्यरत नेपाल प्रहरीका सईले गरे मेरापिक हिमालको सफल आरोहण

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ८, शनिबार १४:१३

विराटनगर । विराटनगरमा कार्यरत नेपाल प्रहरीका सई (प्रहरी नायव निरीक्षक) नन्दलाल चौधरीले मिरापिक हिमालको सफल आरोहण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङको प्रबन्ध शाखामा दरबन्दी भएका सई चौधरी इलाका प्रहरी कार्यालय रानीमा कार्यरत छन् । उनले प्रहरी प्रधान कार्यालयबाट असोज २० गतेदेखि लागू हुने गरी हिमाल आरोहरणको स्वीकृति पाएका थिए ।

सोलुखुम्बु जिल्लामा रहेको उक्त हिमालको उचाइ ६ हजार ४ सय ७६ मिटर छ । चौधरीले कार्तिक ५ गते बिहानका राति २ बजेको समयमा आरोहण सुरु गरेका थिए । बिहान ६ः३० बजे उनले सफलतापूर्वक हिमाल आरोहण गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

उनका अनुसार हिमाल आरोहण गरी सुरक्षितसाथ फर्किएका सई चौधरी शनिबार बिहान ९ः१५ बजे सम्पर्कमा आएका थिए । साढे ४ घण्टाको समयभित्र सफलतापूर्वक हिमाल आरोहण सकेर उनी फर्किएका छन् ।

मेरापिक हिमालको चुचुरोमा पुगेर नेपाल र नेपाल प्रहरीको झन्डा फहराउन चौधरी सफल छन् । निकट भविष्यमै संखुवासभामा रहेको विश्वको पाँचौं अग्लो मकालु हिमाल (८४६३ मिटर उचाइ) आरोहण गर्ने उनको तयारी छ ।

मेरापिकको सफल आरोहणलाई चौधरीको साहस र दृढ इच्छाशक्तिको प्रतीकका रूपमा लिइएको छ । ‘आरोहणका क्रममा कुनै अप्ठेरो र असजिलो महसुस भएन । शेर्पा दाजुभाइहरुसँगै चढेर फर्किएँ । उहाँहरुले आरोहणमा ठूलो सहयोग गर्नु भयो,’ मुलुकी खबरसँगको सम्पर्कमा सई चौधरीले भने ।

‘हिमालको सफल आरोहण आरोहीको शारीरिक क्षमता र मानसिक धैर्यको कठोर परीक्षा पनि हो । हिमालको चिसो, न्यून अक्सिजन र कठिन भौगोलिक परिवेशबीच शिखरमा पुग्नु सम्पूर्ण नेपाली र नेपाल प्रहरीका लागि गौरवपूर्ण उपलब्धि हो,’ एसपी कटवालले भने ।

यसले व्यक्तिको मात्रै नभएर सम्पूर्ण नेपाली पर्वतारोहण क्षमताको उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ । सई चौधरीले गरेको सफल आरोहणबाट लक्ष्यप्रति समर्पण, संयम र प्रयासले असम्भव देखिने कार्य पनि सम्भव हुन्छ भन्ने सन्देश प्रवाह भएको कटवालले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.