
काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहहरुलाई संवादका लागि आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार संवादका लागि आग्रह गरेका हुन् ।
सरकारले राजनीतिक माग संवादको माध्यमबाट सम्बोधन गर्ने उनले उल्लेख गरे । ‘संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन,’ गृहमन्त्री अर्यालले भने ।
लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ । ‘सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउनु भएन । कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो’ उनले भने ।
बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई समान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए ।
प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । बैठकमा सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको थियो ।

























